पेरु विरुद्धको खेल अघि ब्राजिलियन टोलीको हौसला बढाउन नेयमार पुगे पछि

कोपा अमेरिकाको समुह चरणको अन्तिम खेलमा ब्राजिलले पेरु विरुद्ध खेल्दैछ । नेपाली समय अनुसार ब्राजिलले शनिवार राति १२ः४५ मा पेरु विरुद्ध खेल्नेछ । समहु ‘ए’ मा रहेको ब्राजिल ४ अंक जोडेर शिर्ष स्थानमा रहँदा समान अंक जोडेको पेरु दोस्रो स्थानमा छ । समुह चरणको अन्तिम खेलमा पेरु विरुद्ध ब्राजिल जित निकाल्ने अभियानमा हुनेछ ।

यही अवस्थामा चोटका कारण मैदान बाहिर रहेको सुपरस्टार नेयमारले टिममेटसँग भेटेका छन् । शुक्रबार नेयमार ब्राजिलियन टिम बसेको होटलमा पुगेका हुन् । टोलीको हौसला बढाउन उनले टिममेटसँग भेटघाट गरेका हुन् । नेयमार होटेलमा पुगेको तस्विर ब्राजिल फुटबल संघले आधिकारिक ट्वीटर अकाउन्ट्बाट सार्वजनिक गरेको छ ।

कोपा अमेरिकाको तयारीका लागि कतारसँगको खेलमा नेयमारले खुट्टामा चोट बोकेका थिए । सोही चोटका कारण अहिले उनी मैदान बाहिर छन् । पेरु विरुद्धको खेलमा नेयमार मैदानमै उपस्थित भएर टोलीको हौसला बढाउने बताइएको छ ।