पेप गार्डियोलाको अनुपस्थितमा म्यान्चेस्टर सिटीको फराकिलो जित

म्यानचेस्टर सिटीले सानदार जित निकाल्दै एफए कपको चौथो चरणमा प्रवेश गरेको छ ।

खेलमा म्यान्चेस्टर सिटीका मुख्य प्रशिक्षक पेप गार्डियोला कोरोना संक्रमणका कारण उपस्थित थिएनन्, उनको स्थानमा उनका असिस्टेन्टले खेल सम्हालेका थिए ।

सिटीले लिग टुको स्विन्डनमाथि ४–१ को फराकिलो जित निकाल्दै चौथो चरणमा प्रवेश गर्न सफल भएको हो । सिटीको जितमा बर्नाडो सिल्भा, गाब्रियल जेसस, इल्केए गुन्डोगान र कोल पाल्मेरले गोल गर्दा घरेलु टोलीका ह्यारी म्याककृडिले एक गोल फर्काए ।

दि काउन्टी ग्राउन्ड स्विन्डन विल्टसायरमा बिहीबार राति भएको खेलको १४औं मिनेटमा बर्नाडो सिल्भाको गोलबाट सिटीले सुरुवाती अग्रता लिएको थियो । २८औं मिनेटमा गाब्रियल जेससले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

५९औं मिनेटमा इल्केए गुन्डोगानले गोल गर्दै सिटीको अग्रता तेब्बर पारे । ७८औं मिनेटमा ह्यारी म्याककृडिले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । ८२औं मिनेटमा कोल पाल्मेरले गोल गर्दै सिटीको जित पक्का गरे ।