पेनाल्टीमा चुक्दा इंग्ल्याण्ड हार्‍यो; अमेरिका लगातार तेस्रो पटक फाइनलमा

पूर्व बिजेता अमेरिका महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। फ्रान्समा जारी प्रतियोगिता अन्तर्गत मंगलबार राति भएको सेमिफाइनलमा खेलमा इंग्ल्याण्डलाई २/१ ले हराउदै अमेरिकाले फाइनल प्रवेश गरेको हो।

सेमिफाइनल खेलमा अमेरिकाको लागि क्रिष्टिन प्रेस र एलेक्स मोर्गनले गोल गरिन्। इंग्ल्याण्डका लागि एलन ह्वाइटले एक मात्र गोल गरिन्।

१० औँ मिनेटमा प्रेसले गोल गर्दै अमेरिकालाई १/0 अग्रता दिलाइन्। १९ औँ मिनेटमा ह्वाइटले इंग्ल्याण्डका लागि गोल गर्दै खेल १/१ को बराबरीमा ल्याइन् । पहिलो हाफकै ३१ औँ मिनेटमा मोर्गनले गोल गर्दै अमेरिकालाई २/१को अग्रता दिलाइन् ।

दोस्रो हाफमा दुवै तर्फबाट कुनै गोल हुन सकेन । ८६ औँ मिनेटमा इंग्ल्याण्डका मिली ब्राइट दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएक थिए। खेलको दोस्रो हाफमा इंग्ल्याण्डले पेनाल्टी पाएको थियो तर त्यसमा स्टेफ होग्टनले गोल गर्न चुके पछि इंग्ल्याण्डल २/१ ले खेल हार्यो।

लगातार तेस्रो पटक विश्वकपको फाइनलमा पुगेको अमेरिकाले आउँदो आइतबार उपाधिका लागि स्वीडेन वा नेदरल्याण्डससँग प्रतिस्पर्धा गर्नेछ।