पेनाल्टीको समय इङ्गल्यान्डका फ्यानले विपक्षी गोलकिपरको अनुहारमा लेजर बाले पछि 

युरो २०२०मा डेनमार्कलाई दुई एकले हराउँदै इङ्गल्यान्ड ५५ वर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको छ।

बुधवार राती भएको खेलमा इङ्गल्यान्डले जित हासिल गर्दा उक्त खेल केही विवादास्पद रह्यो। इङ्गल्यान्डले पाएको पेनाल्टीको ’bout धेरै बहस र रेफ्रीको आलोचना भएको छ भने पेनाल्टीको क्रममा इङ्गल्यान्डका फ्यानले डेनमार्कका गोलकिपरको अनुहारमा लेजर बाले पछि खेलमा अर्को विवादास्पद घटना भयो।

खेल १-१को स्कोरमा रोकिए पछि खेल अतिरिक्त समयमा गएको थियो भने खेलको एक सय दुई मिनेटमा इङ्गल्यान्डले पेनाल्टी पाएको थियो र उक्त पेनाल्टीमा डेनमार्कका गोलकिपर कास्पर स्माइकललाई विफल पार्न इङ्गल्यान्डका फ्यानले उनको अनुहारमा लेजर लाइट बाले।

ह्यारी केनको पेनाल्टीको सामना गर्न तयार रहेका कास्परलाई ‘डिस्टर्ब’ गर्न उनको अनुहारमा इङ्गल्यान्डका फ्यानले हरियो लेजरले प्रहार गरे। इङ्गल्यान्डका फ्यानको उक्त प्रयास बाबजुद स्माइकलले सो पेनाल्टी सेभ गरे तर केनले रिबाउण्डमा गोल गरे।

हाल उक्त घटनाको अनुसन्धान हुने जानकारी छ र उक्त घटनामा संलग्न रहेको व्यक्तिको खोजी हुने खबर छ। इङ्गल्यान्ड १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा पुग्न सफल भयो भने युरो कपमा पहिलो पटक फाइनलमा स्थान बनायो । अब उसले उपाधिका लागि जुलाई ११ मा वेम्ब्लीमा नै इटलीसँग खेल्नेछ । इटलीले पहिलो सेमिफाइनलमा स्पेनलाई चार दुईले हराउँदै फाइनलमा पुगिसकेको छ ।