पूर्व अष्ट्रेलियन फुटबलर फिलिप्सलाइ एन्फाले टेक्निकल डाइरेक्टरको पदमा गरे नियुक्त

अखिल नेपाल फुटबल संघ (एन्फा) ले पूर्व अष्ट्रेलियन फुटबलर ग्यारी माइकल फिलिप्सलाई आफ्नो टेक्निकल डाइरेक्टरमा नियुक्त गरेको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले उपलब्ध गराएको आर्थिक सहयोगमा एन्फाले ५६ बर्षिय फिलिप्सलाई सो पदमा आकस्मिक बैठकको निर्णय अनुसार नियुक्त गरेको एन्फाले बताए।

सन् २००१ देखि २००३ सम्म अष्ट्रेलियन क्लब सिड्नी ओलम्पिकको प्रशिक्षकीय जिम्मेवारी पाएका फिलिप्सले क्लबलाई सन् २००१–०२ को सिजनमा उपाधि पनि जिताएका थिए । स्मरण रहोस, फिलिप्सले सिड्नी ओलम्पिकमा खेलाडीका रुपमा पनि शानदार रुपमा एक दशक भन्दा बढी बिताएका थिए । त्यस क्रममा मिडफिल्डमा खेल्ने उनले क्लबका लागि २५८ म्याच खेल्दै १३ गोल पनि गरेका थिए ।

त्यसपछि एएफसीको मुख्यालय मलेसिया स्थित क्वालालम्पुरमा पनि काम गरेका फिलिप्सले सन् २००९ को डिसेम्बरमा चर्चित मलेसियन क्लब सबाह एफएको प्रशिक्षकीय जिम्मेवारी सम्हालेका थिए । जहाँ उनले क्लबलाई सात महिना मै सुपर लिगमा बढुवा गराएका थिए ।

मलेसियाको बसाई पछि सन् २०१५ को फेब्रुअरीमा उनले पपुआ न्युगिनीको महिला फुटबल टोलीको जिम्मेवारी पनि सम्हाले । केही समय त्यहि बिताएका फिलिप्स सोही बर्ष फेरि एनएस म्याट्रिक्स एफसीको जिम्मेवारी सम्हाल्न मलेसिया फर्किएका थिए । त्यसपछि उनले सन् २०१७ मा फिलिपिनो क्लब डवाओ एकिलासको जिम्मेवारी पनि सम्हालेका थिए ।

फिलिप्सको नियुक्तिलाई नेपाली फुटबलमा राम्रो सम्भावनाका रुपमा समेत हेरिएको छ । त्यसैगरी एन्फाले हेड अफ कोचेज एजुकेशन पदमा सजित सिंहलाई नियुक्त गरेको छ भने हेड अफ इलिट एण्ड युथमा नविन महर्जनलाई नियुक्त गरेको छ । त्यस्तै महिला टोलीको प्रमुखमा हरि खड्कालाई नियुक्त गरेको छ ।