पीपीएलको तयारी तीव्र

दसैंलगत्तै सुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) टीट्वेन्टी क्रिकेट प्रतियोगिताको तयारी तीव्र पारिएको छ। प्रतियोगिताको मिति नजिकिँदै गर्दा आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्टले प्रतियोगिताका लागि पिच र मैदानका साथै अन्य तयारीलाई पनि अन्तिम रूप दिन मेहनत गरिरहेको छ।

कात्तिकको ९ देखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि पोखरा रंगशालामा रहेको क्रिकेट मैदान र पिच निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको क्विन्स इभेन्ट मेनेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले बताए।

प्रतियोगिताका लागि चार हजार पाँच सय दर्शक अट्न सक्ने अस्थायी प्यारापिटको निर्माणकार्य समेत मंगलबारबाटै सुरु गरिएको उनले जानकारी दिए। मैदानको पूर्वतर्फ दर्शक र दक्षिणतर्फ भीआईपी प्याराफिट निर्माण गरिने उनले बताए। प्रबन्ध निर्देशक लामाले प्रतियोगिताका लागि ९९ प्रतिशत तयारी पूरा भएको र बाँकी तयारी पनि दसंै नै सकिने बताए।

‘हामीले प्रतियोगिताको धेरैजसो तयारी पूरा गरिसकेका छौं। पिच र मैदानको तयारी अन्तिम चरणमा पुगेको छ’, प्रबन्ध निर्देशक लामाले भने, ‘प्यारापिट निर्माण पनि आजबाट सुरु भएको छ। बाँकी रहेका सबै तयारी हामी दसंैअघि नै सक्नेछौं।’ उनका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई अभ्यासका लागि पोखराको नदीपुरस्थित क्रिकेट मैदानलाई तयार पारिएको छ।

पीपीएल पोखरामा आयोजना हुन लागेको अहिलेसम्म ठूलो प्रतियोगिता हो। घरेलु क्रिकेटमा सर्वाधिक ठूलो पुरस्कार राशि रहेको पीपीलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले समेत मान्यता दिएको छ। यससँगै प्रतियोगितामा विदेशी खेलाडीलाई पीपीएलमा सहभागी हुन बाटो खुलेको छ। यसले प्रतियोगिता थप रोमाञ्चक हुने अनुमान गरिएको छ।

प्रतियोगितामा विभिन्न ६ सहरका टोलीले सहभागिता जनाउँदै छन्। पीपीएलमा घरेलु टोली पोखरा पल्टनसँगै हुलास काठमाडौं रोयल्स, चितवन राइनोज, विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स र एक्सपर्ट धनगढी ब्लुजले प्रतियोगितामा सहभागिता जनाउँदै छन्।