पीपीएलः धनगढी ब्लुजद्वारा पोखरा पल्टन २ विकेटले पराजित

पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा धनगढी ब्लुजद्वारा पोखरा पल्टन २ विकेटले पराजित भएको छ । दीपन्द्रसिंह ऐरीले २६ बलमा ४ चौका र ४ छक्का प्रहार गरी अविजित ४९ रन बनाएपछि धनगढी ब्लुजले पोखरा पल्टन विरुद्ध १४५ रनको लक्ष्य १ बल अगाडि १४८ रन बनाउँदै पुरा गरेको हो ।

यसअघि टस जित्दै ब्याटिङ रोजेको पोखरा पल्टनले पुरा ओभर खेल्दै ८ विकेटको क्षतिमा एक सय ४४ रन बनाएको थियो। पोखराका लागि ओपनर कुशल भुड्तेल ३ रनमा र आसिफ शेख २३ रन बनाइ आउट भए । यस्तै इन्दर सिंहले २८, कप्तान शरद भेषवाकरले १४, विनोद भण्डारीले ७, माेहम्मद नभिद ११ र रोहित पौडेलले ३१ रनको योगदान गरे ।

पाेखराका लागि राशिद खान १५ रन र विक्रम भुषाल ८ रनमा अविजित रहे । धनगढीका लागि कमल सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । रोविन क्षेत्री, पिटर टेग्रो समान र ड्यान लरेन्सले समान १ / १ विकेट लिए ।

जितसँगै धनगढीको दोस्रो चरण पुग्ने सम्भावना बलियो भएको छ। समूहका सबै खेल खेेलेको धनगढीले ५ खेलबाट ६ अंक जोड्यो। पोखराको ४ खेलबाट ४ अंक जोडेको छ। पोखराले अन्तिम खेल खेल्न बाँकी छ।