पीएसजीमा अनुबन्धित भएपछि रामोसले यसो भने

स्पेनिस डिफेन्डर सर्जियो रामोस लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा अनुबन्ध भएका छन् । पिएसजी रामोससँग दुई वर्षको सम्झौता गरेको हो ।

३५ वर्षका रामोसले आफ्नो खेल जीवनमा विश्वकप, युरोकप, फिफा क्लब विश्वकप युईएफए च्याम्पियन्स लिग, स्पेनिस ला-लिगा, कोपा डे रेलगायत सबैखाले प्रमुख उपाधि जितिसकेका छन् ।

पिएसजीबाट खेल्न पाउँदा आफूलाई गर्व लागेको प्रतिक्रिया रामोसले दिएका छन् । उनले क्लबलाई धेरैभन्दा धेरै उपाधि जिताउन भूमिका खेल्ने बताए ।

‘म पीएसजीमा अनुबन्ध हुन पाउँदा निकै खुसी छु,’ रामोसले भनेका छन्, ‘यो मेरो लागि निकै ठूलो चुनौती हो। र, यो दिन म बिर्सने छैन। साथै धेरै महत्वाकांक्षी योजनामा भूमिका खेल्न पाएकोमा म आफूप्रति गौरवान्वित छु।’

पिएसजीका अध्यक्ष नसिर अल खेलाईफीले भने, ‘पेरिसले आज हाम्रो युगकै एक महान् खेलाडीलाई स्वागत गरेको छ । सजिर्यो रामोस हाम्रो क्लबमा आबद्ध भए भनेर घोषणा गर्न पाउँदा हामी निकै हर्षित छौं ।’

सेभियाबाट व्यवसायिक फुटबलको सुरुवात गरेका रामोसले सन् २००५ यता पछिल्ला १६ वर्ष रियलमा बिताएका थिए । रियलसँगको सम्झौता यसै सिजन टुंगिएपछि उनले फ्रि एजेन्टका रूपमा क्लब छाडेका हुन् ।

पीएसजीमा रामोसको सहयात्रीमा अब नेयमार केलियन एमबाप्पे पनि हुनेछन् । अब पीएसजीको लक्ष्य नेयमार र एमबाप्पेलाई क्लबमै राख्नु हुनेछ ।