पीएसजीमाथी ६-१ को जित सबैभन्दा यादगार – नेयमारले गर्‍यो पीएसजीको व्यंग्य

नेयमार पछिल्लो समय बार्सिलोनासँग जोडिएका छन् । सन् २०१७ मा स्पेनबाट पीएसजी गएका उनी पुनः बार्सिलोना फर्किने मनसायमा छन् ।

कीर्तिमानी रकममा पीएसजी गएका उनी दुई वर्षपछि बार्सिलोना फर्किने भएका हुन् । तर, नेयमारको वर्तमान क्लब पीएसजी भने नेयमारका लागि चाहिएजत्ति रकम नदिए कतै जान नदिने बताएको छ । पीएसजीका खेल निर्देशक लियोनार्डोले उचित मूल्यमा मात्र नेयमार उपलब्ध भएको जनाएका छन् ।

बार्सिलोनाले भने हालैमात्र ला लिगा प्रतिद्वन्द्वी क्लब एथ्लेटिको मड्रिडका स्टार खेलाडी एन्टोइन ग्रिजम्यानलाई भित्र्याएको छ । ग्रिजम्यान बार्सिलोना आएपछि नेयमार बार्सिलोना फर्किँने सम्भावना केही कम भएको बताइएको छ । फान्सलाई सन् २०१८ को रसिया विश्वकप जिताएका ग्रिजम्यानलाई बार्सिलोनाले आधिकारिक रूपमा सार्वजनिक पनि गरिसकेको छ ।

पीएसजीमा खासै राम्रो प्रदर्शन गर्न नसकेका उनी बार्सिलोना फर्कन सक्ने हुन् या होइनन्, यो भने हेर्न बाँकी नै छ । तर, नेयमारले पीएसजीलाई बार्सिलोनाले हराएको क्षण आफ्नो अवस्मरणीय भएको बताएका छन् । एक कार्यक्रममा बोल्दै नेयमारले आफ्ना अवस्मरणीय क्षणबारे बोलेका हुन् । उनले बार्सिलोनामा छँदा पीएसजीविरुद्ध निकालेको जित अवस्मरणीय भएको बताएका छन् ।

बार्सिलोनाले सन् २०१७ को च्याम्पियन्स लिगमा पीएसजीलाई ६–१ गोलान्तरले हराएको थियो । च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६को पहिलो लेगमा ४-० को हार ब्यहोरेको बार्सिलोनाले पीएसजीविरुद्ध कमब्याक जित निकालेको थियो । बार्सिलोनाले दोस्रो लेगको खेलमा ६–१ गोलान्तरले जित निकाल्दै च्याम्पियन्स लिगबाट पीएसजीलाइ आउट गरेको थियो ।

सोही खेल सम्झँदै नेयमारले आफ्नो मन पर्ने क्षण भएको बताएका हुन् । एक कार्यक्रममा नेयमारलाई आफ्नो करिअरको दुई अवस्मरणीय क्षणका बारेमा सोधिएको थियो । उनले जवाफ दिँदै सन् २०१६ मा ब्राजिलका लागि ओलम्पिक गोल्ड जितेको क्षण र पीएसजीविरुद्ध फराकिलो जित निकालेको क्षण आफ्ना लागि अवस्मरणीय भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘जब हामीले पीएसजीविरुद्ध फराकिलो जित निकालेका थियौँ । जितपछि हामी पागलझैँ रमाएका थियौँ । मलाई लाग्छ, यो हाम्रो लागि उत्कृष्ट क्षण थियो । हामीले त्यहाँ वास्तवमै सम्झन लायक गोल गरेका थियौँ । मैले यस्तो कहिल्यै सोचेको थिइँन् । यो अवस्मरणीय थियो ।’

पीएसजीलाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गर्दा बार्सिलोनाका लागि नेयमारले २ गोल गरेका थिए । उनले खेलको ८८औं मिनेटमा फ्रिकिकमार्फत र ९२ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका थिए ।