पीएसजीको जितमा एम्बाप्पेको गोल, क्वाटरफाईनलमा प्रवेश

लिग कपमा पीएसजीले फराकिलो जित निकालेको छ ।

बुधबार भएको खेलमा पीएसजीले दोस्रो डिभिजनको क्लब लि मेन्सलाई ४–१ गोल अन्तरले हराएको हो ।

जितसंगै पीएसजी लिग कपको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

पीएसजीले खेलमा अग्रता २१ औं मिनेटमा पाब्लो सर्बियाको गोलबाट लिएको थियो । डी मारियाको पासलाई सदुपयोग गर्दै सर्बियाले गोल गरेका थिए ।

पीएसजीका लागि दोस्रो गोल ४० औं मिनेटमा इरिक म्याक्सी चुप्पो मोटिङले गरे । केलियन एम्बाप्पेको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए ।

त्यसको एक मिनेटपछि एमबाप्पेले गोल गर्दै पीएसजीलाई पहिलो हाफमा ३–० को अग्रता दिलाए ।

पीएसजीका लागि एम्बाप्पेले छैटौै खेलमा समेत गोल गर्न सफल भए । उनले पछिल्लो ६ खेलमा पीएसजीका लागि ७ गोल गरेका छन् ।

४७ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै पीएसजीलाई ४–० ले अघि बढाएका थिए । ५३ औं मिनेटमा हरिसन मान्जालाले लि मेन्सका लागि एक गोल फर्काएका थिए ।

पीएसजीले शनिबार अब लिग वान खेलमा अमिन्ससंग प्रतिस्पर्धा गर्नेछ ।