पिङ्क बलमा भारतको डेब्यु यादगार

तीव्र गतिका बलर उमेश यादवले पाँच विकेट लिएपछि भारतले पाहुना टोली बंगलादेशविरुद्धको डे–नाइट क्रिकेट आइतबार तेस्रो दिनमै आफ्नो पक्षमा बनाउँदै टेस्ट शृंखला क्लिन स्विप गरेको छ। कोलकातामा बंगलादेश तेस्रो दिनको पहिलो सत्रमा एक घण्टा पनि नबित्दै १ सय ९५ रनमा आउट भएपछि भारतले दोस्रो टेस्टमा एक इनिङ र ४६ रनले जित निकालेको हो। त्यससँगै भारतले शृंखला २–० ले आफ्नो बनाउन सफल भयो। बंगलादेशविरुद्धको शृंखला आफ्नो बनाएसँगै भारतले घरेलु मैदानमा लगातार १२औं पटक शृंखला आफ्नो बनाएको छ। भारत पिङ्क बलमा गरेको डेब्युलाई यादगार बनाउन सफल भएको छ।

पिङ्क बलबाट डे–नाइट टेस्टमा डेब्यु गरेको भारत लगातार चौथो पटक इनिङसहितको जित निकाल्न पनि सफल भयो। विराट कोहलीको कप्तानीको भारत तीन शृंखला आफ्नो बनाउँदै विश्व टेस्ट च्याम्पियनसिपमा शीर्ष स्थानमा रहन सफल भएको छ। दोस्रो टेस्टमा बंगलादेशका मुस्फिकर रहिमले ७४ रन बनाउँदै आफ्नो टोलीको इनिङ सम्हाल्ने प्रयास गरे पनि सफल हुन सकेनन्।

त्यसअघि दोस्रो दिन नै रिटायर्ट हर्ट भएका महमुदुल्लाह ब्याटिङ गर्न नफर्किएपछि बंगलादेशको इनिङ सस्तैमा रोकिन पुग्यो। महमुदुल्लाह ३९ रनमा पवेलियन फर्किएका थिए। इडेन गार्डेनमा आइतबार ८.४ ओभरमै बंगलादेशलाई समेट्न सफल हुँदा भारतका यादवले तीन विकेट लिएका थिए। भारतको बलिङमा ईशान्त शर्माको प्रदर्शन उत्कृष्ट रह्यो। शर्माले दुई इनिङमा गरेर ९ विकेट लिँदा ७८ रन मात्र खर्चिएका थिए।

शृंखलाभरि १२ विकेट लिएका शर्मा प्लेयर अफ दी सिरिज घोषित भए। घरेलु मैदान या बाहिर जहाँ पनि उनीहरूको प्रदर्शन निकै राम्रो भइरहेको छ,’ कप्तान कोहलीले भने, ‘यी सबै सफलताका पछाडि उनीहरूको पूर्वतयारीको नतिजा हो। उनीहरू सदैव उच्च प्रदर्शन गर्न भोका छन्।’ बंगलादेशका कप्तान मोमिनुल हकले पिङक बलमा खेल्न अभैm कठिन भएको बताएका छन्।

‘पक्कै पनि दुई टोलीबीचको प्रदर्शनमा निकै अन्तर देखिएको छ,’ बंगलादशेका कप्तान मोमिनुलले भने,‘ तर, हामीले दुई खेलबाट धेरै कुरा सिकेका छौं। साथै पिङ्कमा बलमा खेल्न पनि हाम्रा लागि कठिन हुनेछ।

@Nagrik