पिकेको अन्तिम खेलमा बार्सिलोनाको सहज जित

स्पेनिस लिग ला लिगा अन्तर्गत सनिबार राती भएको खेलमा बार्सिलोनाले २-० को सहज जित दर्ता गरेको छ ।

बार्सिलोनाको जितमा ओसमान डेम्बेले र फ्रेन्की डी जोंगले एक एक गोल गरेका थिए । यस खेलमा खेलको सातौं मिनेटमा रोबेर्ट लेवानडोस्कीले पेनाल्टी मिस गरेका थिए ।

यो जितपछि बार्सिलोना ला लिगाको अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाको १३ खेलमा ३४ अंक रहेको छ । त्यस्तै एक खेल कम खेलेको रियल म्याड्रिडको १२ खेलमा ३२ अंक रहेको छ ।

त्यसैगरी अल्मेरियाको भने १३ खेलमा १३ अंक रहेको छ ।

खेलमा बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले आफ्नो अन्तिम खेल खेले ।

केहि दिनअघिमात्र फुटबलबाट सन्यास लिएको घोषणा गरेका पिकेले आफ्नो क्यारियरको अन्तिम खेल खेलेका हुन् । पिके आफ्नो अन्तिम खेल ८५ मिनेटसम्म खेलेका थिए ।