पिएसजी लिग उपाधि नजिक

फ्रेन्च लिग वान लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) ले दश खेलाडीमा सिमित हुनाका बावजुद सेन्ट इटिनीसँग १–१ गोलको बराबरी खेल्दै लिग उपाधि नजिक पुगेको छ । खेलमा सेन्ट इटिनीले शुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो ।

 सेन्ट इटिनीको घरेलु मैदानमा सम्पन्न खेलको १७ औं मिनटमा रेमी काबेलाको गोलबाट घरेलु टोलीले शुरुवाती अग्रता लिएको थियो । त्यस्तै ४१ औं मिनटमा पिएसजीका प्रेस्नेल किम्पेम्बेले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडेपछि पाहुना टोली दश खेलाडीमा सिमित हुन पुगेको थियो ।
यद्यपि सेन्ट इटिनीले त्यसको फाईदा उठाउन सकेन । बरु उल्टै आत्मघाती गोल खान पुगेको थियो । इन्जुरी समयमा (९०+२) डेबुचीले आत्मघाती गोल गर्न पुगेपछि सेन्ट इटिनीले जित नजिक पुगेर पनि दुर्भाग्यपूर्ण रुपमा अंक बाँड्न पुगेको थियो ।
यो नतिजासँगै ३२ खेलबाट ८४ अंक जोड्दै पिएसजी शिर्ष स्थानमा यथावत छ । अब पिएसजीलाई लिग उपाधि जित्न ५ अंकको आवश्यक छ भने उसले ६ खेल खेल्न बाँकी छ । उता सेन्ट इटिनी भने ४३ अंकका साथ ९ औं स्थानमा छ ।