पिएसजी ट्रान्सफर विन्डोमा धेरै सक्रिय- नयाँ डिफेन्डर साइन गर्न नजिक

हाल गर्मीको ट्रान्सफर विन्डो सुरु भएको छ भने फ्रेन्च क्लब पिएसजी सबैभन्दा धेरै सक्रिय देखिएको छ। हालै मात्र पिएसजीले बार्सालाई पछि पार्दै लिभरपुलका स्टार मिडफिल्डर जर्जिनियो विज्नाल्डमलाई साइन गरेको थियो भने एसी मिलानका स्टार गोलकिपर जियानलुजी डोनारुम्मा साइन गर्न पिएसजी नजिक रहेको बेला इन्टर मिलानका स्टार राइट ब्याक अच्राफ हाकिमी सँग पिएसजीको वार्ता हुँदै गरेको खबर छ।

भर्खरै सिरी ए जितेको इन्टर मिलान पनि उनको बिक्रीको लागि खुला हुने खबर रहेको बेला हाकिमी सँग पिएसजीको वार्ता हुँदै गरेको इटालियन ट्रान्सफर विज्ञ फाब्रिजियो रोमानोको दाबी रहेको छ।

हाकिमी रियाल म्याड्रिडका युवा एकेडेमी आएका थिए र २०१७मा उनी रियलको पहिलो टिम सेटअपमा प्रवेश गरे। यद्यपि, रियलमा डेनि कारभाहाल पहिलो रोजाई रहेको कारण उनी २ वर्षको लागि डार्टमन्डमा लोनमा गए। जर्मनीमा उनको खेल निकै राम्रो रहेको थियो भने २०२०मा २२ वर्षका फुल ब्याक इन्टरमा गए।

इन्टरमा पनि उनको निकै राम्रो खेल रह्यो भने इन्टर सँग उनले हाल लिग जितेका छन्। ४४ खेलमा उनले ७ गोल र १० असिस्ट गरेका छन्।

हाल खबर अनुसार साइन गर्न पिएसजी इच्छुक छ र उनको हाल मूल्य €६० मिलियन भन्दा माथि हुने खबर छ। अन्य धेरै क्लबहरूको नजर पनि उनी माथि रहेको खबर छ भने हालको आर्थिक समस्याको कारण इन्टरले उनलाई बेच्ने पनि कुरा छ भने पिएसजी सँग उनको वार्ता भएको खुलेको छ यद्यपि दुई बिच हाल सम्म कुनै सम्झौता नभएको जानकारी छ।