पिएसजीलाई कोपा दे फ्रान्सको उपाधि

एजेन्सी, कोपा दे फ्रान्सको उपाधि पेरीस सेन्ट जर्मेनले जितेको छ । फाइनलमा चिर प्रतिद्धन्द्धी क्लव मोनाकोलाई दुई शुन्यले हराउँदै उसले उपाधि उचाल्न सफल भयो ।

पेरीसमा भएको फाइनलमा पीएसजीको जितमा माउरो इकार्डि र केलियन एम्बाप्पेले एक एक गोल गरे । पीएसजीको यो १४ औं कोपा दे फ्रान्सको उपाधि हो । यसका साथै पीएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनका लागि पीएसजीसँग पहिलो उपाधि हो ।

प्रतिबन्धका कारण नेयमारविना नै मैदानमा उत्रिएको पीएसजीले खेलको १९ औं मिनेटमा खेलमा अग्रता बनायो । उसका लागि माउरो इकार्डीले गोल गर्न सफल भए।

एक गोलले पछि परेको मोनाकोले त्यसको केहि बेरमा खेल बराबरी गर्ने उत्कृष्ट मौका खेर फाल्यो । उसका निको कोभाकको पासमा गल्सोन मार्टिन्सको प्रहार क्रसबारमा लागेर फर्कियो ।

पहिलो हाफमा एक शुन्यको अग्रता बनाएको पीएसजीले ८१ औं मिनेटमा अन्तर दुई शुन्यमा पुर्यायो । उसका लागि मोनाकोका पूर्व खेलाडी केलीयन एम्बाप्पेले गोल गरे । उनले इकार्डीसँगको सहकार्यमा गोल गरेका थिए । ११ बर्षपछि कोपा दे फ्रान्सको फाइनलमा पुगेको मोनाको त्यसपछि खेलमा फर्कन सकेन र पीएसजीले सहज जित निकाल्यो ।