पिएसजीका १० खेलाडीहरु होटलको लिफ्टमा फसे पछि

पेरिस सेन्ट-जर्मेनका कम्तिमा १० खेलाडीहरू आरबी लाइपजिग बिरूद्धको खेल अगाडि होटलको लिफ्टमा फसेका थिए र फायर फाइटरहरुले उक्त खेलाडीहरुको उद्धार गरेका थिए।

 

खेलाडीहरु खेलको लागि लाइपजिगको ग्रान्ड होटेल ह्यान्डलशफमा बसिरहेको थिए खेलाडीहरू प्रशिक्षणबाट फर्केका बेला लिफ्टमा खराबी आए पछि खेलाडीहरु ५० मिनेट सम्म लिफ्टमा फसे।

५० मिनेट पछि लाइपजिगका फायर फाइटरहरुले उक्त खेलाडीहरुको उद्धार गरेको खबर छ।

यो घटनामा संलग्न खेलाडीहरु किम्पेम्बे, लियान्ड्रो परेडीज, एन्जेल डि मारिया, मार्क्विनहोस, बन्डियौगौ फडिगा, अब्दु डायालो, इद्रिसा गुये, मोइस केन, कोलिन डग्बा र केस रुइज-अटिल रहेको विश्वास छ।

उक्त खेलमा भने पेरिस सेन्ट जर्मेन आरबी लाइप्जिगसँग पराजित भएको थियो । डि मारियाकै गोलबाट पीएसजीले खेलमा सुरुवाती अग्रता लिएको थियो । उनले छैटौं मिनेटमा मोइस किनको पासमा गोल गरेका थिए । डि मारियाले नै १६औं मिनेटमा पेनाल्टी चुकाएका थिए । मोइस किनलाई लडाएपछि प्राप्त पेनाल्टीमा डि मारियाको प्रहार लाइप्जिगका गोलरक्षक पिटर गुलाक्सीले विफल पारेका थिए ।

४२औं मिनेटमा क्रिस्टोफोर एनकुुकुले गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनले एन्जेलिनोको पासमा गोल गर्न सफल भएका थिए । ५७औं मिनेटमा इमिल फोर्सवर्गले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए ।

प्रेसनेल केम्पेम्वेले पेनाल्टी बक्समा फोर्सवर्गलाई लडाएपछि रेफ्रीले भिएआरको सहायता लिदै लाइप्जिगलाई पेनाल्टी प्रदान गरेका थिए । जसमा फोर्सवर्ग चुकेनन् ।

६९औं मिनेटमा इड्रिसा गाना गुया दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएपछि पीएसजी १० खेलाडीमा समेटिएपछि पीएसजीको खेलमा फर्कने सम्भावना सकिएको थियो । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा प्रेसनेल केम्पेम्वे पनि दोहोरो पहेँलो कार्ड खादै मैदान छाडेपछि पीएसजी ९ खेलाडीमा समेटियो ।