‘पावर रर्याङकिङ’ मा युभेन्टस नम्बर १ मै : बार्सिलोना र रियल मड्रिडको स्थान कहाँ ?

चर्चित खेल सञ्चारमाध्यम ‘इएसपिएन’ले युरोपका शीर्ष लिग खेल्ने क्लबहरूको ‘पावर र्याङकिङ’ गरेको छ । उसले युरोपका ठूला क्लबहरूको हालसम्मको प्रदर्शनका आधारमा वर्गीकरण गरेको हो ।

‘इएसपिएन’ले आफ्नो अफिसियल वेबसाइटबाट क्लबहरूको ‘पावर र्याङकिङ’ सार्वजनिक गरेको छ । जसअनुसार इटालीको क्बल युभेन्टस नम्बर वान क्लबका रूपमा देखिएको छ ।

यो सिजन च्याम्पियन्स लिगमा शतप्रतिशत जितसहित आफ्नो समूहको शीर्ष स्थानमा रहेको युभेन्टस घरेलु लिगमा पनि अपराजित छ । यसै साता उसले आफ्नो क्लबको इतिहासमै च्याम्पियन्स लिगमा लगातार तीन खेल जितेर रेकर्ड बनाएको थयो ।

त्यसअघि उसले लगातार १० खेल जितेर क्लबको इतिहासमै पहिलो रेकर्ड राखेको थियो । ऊ ‘सिरी ए’को नवौं हप्ताको खेलमा घरेलु मैदानमा जेओनासँग १–१ को बराबरीमा रोकिएको थियो । लिग र च्याम्यिन्स लिगको प्रदर्शनका आधारमा युभेन्टस युरोपका शीर्ष लिग खेल्ने क्लबमध्ये सबैभन्दा बलियो देखिएको छ ।

त्यसपछि दोस्रो स्थानमा स्पेनको क्लब बार्सिलोनाा रहेको छ । बार्सिलोनाले च्याम्पियन्स लिगमा खेलेका ३ वटै खेल जितेको छ । उता, ला लिगामा भने ऊ ९ मध्ये ५ खेलमा जित र ३ खेलमा बराबरी तथा एक खेल हारेर शीर्ष स्थानमा छ ।
‘पावर र्याङकिङ’को तेस्रो स्थानमा इंग्लिस क्लब म्यानचेस्टर सिटी छ । त्यसपछि चौथो स्थानमा जर्मन क्लब बोरुसिया डर्टमुन्ड र पाँचौंमा इटालियन नापोली रहेको छ ।

यता, छैटौं स्थानमा इंग्लिस क्लब लिभरपुल रहँदा सातौंमा अजाक्स रहेको छ । आठौंमा पोर्टो छ भने चेल्सी नवौं स्थानमा मात्रै छ । टप–१० क्लबको सबैभन्दा पुछारमा जर्मन क्लब बार्यन म्युनिख रहेको छ ।