पारस खड्काको टिमको उत्कृष्ट जित, कस्तो रह्यो पारसको प्रदर्शन?

पारस खड्का रहेको टिम आबु धाबीले युएईमा जारी टी-१० क्रिकेट लिगमा पहिलो जित निकालेको छ ।

आइतबार भएको दोस्रो खेलमा नर्दन वारिवर्सलाई ६ विकेटले पराजित गर्दै आबु धाबीले पहिलो जित निकालेको हो ।

शेख जायद स्टेडियममा वारिवर्सले दिएको ९३ रनको लक्ष्य आबु धाबीले ८ ओभर ३ बलमा ४ विकेट गुमाएर पुरा गर्यो ।

आबु धाबीको जितमा लुक राइटले ४८ रन जोड्दा कप्तान मोइन अलीले ३० रन बनाए । नेपालका पारस १ रनमा अविजित रहे ।

वारिवर्सका क्रिस ग्रीनले २ तथा मार्क डीएलले १ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको वारिवर्सले १० ओभरमा १ विकेट गुमाएर ९२ रन बनाएको थियो ।

वारिवर्सका लागि आन्द्रे रसेलले अविजित ३७ तथा साम बिलिङ्सले अविजित ३५ रन बनाए ।यस्तै कप्तान डरेन सामीले १७ रन बनाए ।

आबु धाबीका बेन लुन्घलिनले १ विकेट लिए ।

जितसँगै समूह ‘बी’ को आबु धाबीले २ खेलमा ३ अंक जोडेको छ । आबु धाबी समूहको दोस्रो स्थानमा रहेको छ ।

यस अघि क्वालान्डर्ससँगको पहिलो खेल टाई हुँदा आबु धाबीले अंक बाडेको थियो ।

वारिवर्स ३ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।