पारसलाई महिन्द्राको कार

Pic:- Kantipur

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई व्यापारिक घराना अग्नि ग्रुपले ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । सम्झौताअनुसार पारसले दुई वर्षसम्म अग्नि ग्रुपको ब्रान्ड प्रवर्द्धनसम्बन्धी कार्यमा सरिक हुनुपर्नेछ ।

त्यसबापत अग्निले उनलाई महिन्द्रा एक्सयूभी एसयूभी ३०० कार प्रदान गरेको छ । त्यसका लागि बुधबार पारस र अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

नेपाली बजारमा करिब ५० लाख पर्ने यस कारको मूल्यमध्ये आधा रकममात्र अग्निले प्रायोजन गरेको हो । सम्झौतापछि पूर्वकप्तान पारसले महिन्द्रासँगको आफ्नो सम्बन्ध डेढ दशक पुरानो भएको स्मरण गर्दै नयाँ सहकार्यबाट हर्षित भएको बताए ।

‘सन् २००७ मा अग्नि ग्रुप आधिकारिक बिक्रेता रहेको महिन्द्रा मोटरसाइकलको ब्रान्ड प्रवर्द्धक भएको थिएँ । १३–१४ वर्षसम्म यसलाई निरन्तरता दिन पाउँदा गर्व लागेको छ,’ पारसले भने, ‘यस्तो प्रायोजनबाट खेलाडीका रूपमा हामीलाई करिअरमा केन्द्रित हुन सहयोग मिल्नेछ ।’

@Kantipur