पहिलो पटक इङलिस प्रेमिएर लिगको शीर्ष स्थानमा साउथह्याम्प्टन

साउथह्याम्पटन इंग्लिसप्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा न्युकासल युनाईटेडलाई २-० ले पराजित गर्दै साउथह्याम्पटन शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा साउथह्याम्पटनलाई जित दिलाउन चे एडम्स र स्टुवार्ट आम्स्ट्रोङले एक एक गोल गरे ।

खेलको सातौं मिनेटमा चेले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८२ औं मिनेटमा स्टुवार्टले गोल गर्दै साउथह्याम्पटनलाई सहज जित दिलाए ।

यस जितसँगै साउथह्याम्पटनले ८ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको हो ।

साउथह्याम्पटन सन् १९८८ पछि पहिलो पटक लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

न्युकासल ८ खेलमा ११ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

प्रिमियर लिगकै अर्को खेलमा बर्नली र ब्राइटनले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।