पहिलो खेलमा युभेन्ट्सको जित

साविकको विजेता युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा विजयी सुरुवात गरेको छ ।

शनिबार भएको सिजनको पहिलो खेलमा पर्मालाई १-० गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले सुखद सुरुवात गरेको हो ।

युभेन्ट्सको साँघुरो जितमा जर्जियो चिलीनीले निर्णायक गोल गरे । खेलको २१ औं मिनेटमा चिलीनीले गोल गर्दै युभेन्ट्सलाई ३ अंक दिलाए ।

घरेलु टोलीविरुद्ध स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले गोल गरेपनि गोलको मान्यता नपाउदा युभेन्ट्स अग्रता दोब्बर बनाउनुबाट चुकेको थियो । रोनाल्डोको गोललाई रेफ्रीले अफसाइड दिएको थियो ।

यस्तै बल पोजिसनमा पकड जमाएपनि युभेन्ट्सले घरेलु टोलीविरुद्ध थप गोल गर्न भने सकेन र झिनो अन्तरको जित निकाल्यो ।

जितसँगै युभेन्ट्सले ३ अंकबाट सिजनको सुरुवात गरेको छ । पर्माले भने हारबाट सिजनको सुरुवात गरेको छ ।