‘नेयमार आफ्नै खुसीले पिएसजी आएका थिए, खुसी छैन भने जान सक्छ’ – पिएसजीका अध्यक्ष

नेयमार र पिएसजीका अध्यक्ष नासिर अल खिलाफीबीच टकराव बढेको छ । यसै समरमा क्लब छाड्ने मनसायमा रहेको भनिएका नेयमारको विषयलाई लिएर उनले असन्तुष्टिले भरिएको टिप्पणी गरेका छन् ।

कोपा अमेरिका खेल्न ब्राजिलको टोलीमा पुगेका नेयमार कतारसँगको मैत्रीपूर्ण खेल दौरान घाइते भएर टोलीबाहिर रहेका छन् । केही दिनअघि उनले आफू अब पिएसजी नफर्किने भनेर पिएसजीलाई सन्देश पठाएको खबर बाहिरिएको थियो ।

पुनः स्पेन फर्किने सम्भावना र चर्चाबीच नेयमारले पिएसजीसँग डिभोर्स गर्ने तयारी गरेको चर्चा चलिरहँदा क्लबका अध्यक्ष खिलाफी स्वयंले पनि नेयमार प्रति असन्तुष्टि जनाउँदै क्लबको धारणा सार्वजनिक गरेका हुन् ।

उनले एक अन्तर्वार्तामा बोल्दै नेयमार क्लब छाड्न चाहन्छन् भने स्पेन वा अन्यत्रबाट उचित मूल्यको प्रस्ताव आए आफूहरू उनलाई बेच्न तयार रहेको बताएका छन् । उनले यो पनि बताएका छन् कि, पिएसजीले नेयमारलाई जबर्जस्ती गरेर अनुबन्ध गरेको थिएन । बरु, नेयमार आफ्नै चाहनाले पिएसजी भित्रिएका हुन् ।

क्लबका अध्यक्ष खिलाफीले नेयमारको विषयमा भनेका छन्, ‘म मेरो क्लबका जर्सी लगाएका खेलाडीका लागि सबथोक गर्न तयार छु । तर, जो यो चाहँदैनन् वा बुझ्दैनन्, हामी विकल्प खोज्छौं ।’

उनले अघि थपे, ‘नेयमारलाई पिएसजी ल्याउन हामीलाई कसैले पनि दबाब दिएको थिएन, न हामीले नै । र, उनलाई यहाँ कसैले धकेलेर फसाएको पनि होइन । उनि आफ्नो इच्छा अनुसार पिएसजी आएका हुन् ।’