‘नेयमारले बार्सिलोनासंग माफी माग्नु पर्छ’

रिभाल्डोले पीएसजी स्टार नेयमार बार्सिलोना फर्कने भए प्रशंसकसंग माफी माग्नुपर्ने बताएका छन् । उनले नेयमारले बार्सिलोनामा फर्किए आधिकारिक रुपमा बार्सिलोनाका प्रशंसकसंग माफी माग्नुपर्ने बताएका हुन् ।

नेयमारले सन् २०१७ मा बार्सिलोना छाड्दै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजी गएका थिए । दुई बर्ष पेरिसमा बिताएका नेयमार पुर्व क्लब बार्सिलोना फर्कन चाहन्छन् ।

रिभाल्डोले समेत सन् १९९७ देखि २००२ सम्म बार्सिलोनाबाट खेलेका थिए । उनले समेत नेयमार बार्सिलोना फर्केको हेर्न चाहेको बताए। नेयमारको आगमनले बार्सिलोनाले पुन च्याम्पियन्स लिगको उपाधि जित्न सक्ने रिभाल्डोको भनाई छ ।

‘यो निकै कठिन निर्णय हो ।’ रिभाल्डोले भनेका छन्, ‘किनकी जसरी नेयमारले छाडेर गएका थिए । मलाई लाग्छ, धेरै समर्थक उनीसंग रिसाएका छन् । तर फुटबलमा यस्तै हुन्छ । फुटबल राम्रो छ । नेयमार आफैमा महान खेलाडी हुन् ।’
‘यदी उनी बार्सिलोना फर्किएमा केही प्रशंसकले आलोचना गर्नेछन् । तर खेल र अभ्यास सत्रमा नेयमार पुरानै नेयमार हुनेछन् । यो बार्सिलोनाका लागि केही बिशेष हुनेछ ।’ उनले भने ।

उनले थपे, ‘उनले आधिकारिक रुपमा माफी माग्न पर्छ । आफु गलत भएको भन्नुपर्छ । यो मेरो घर हो भन्न पर्छ । त्यसरी उनी फरक हुन सक्छन् ।

मलाई लाग्छ धेरैले उनलाई बुझ्नेछन् । उनीहरुले लिगमा देख्नेछन् । उनले राम्रो गरेमा प्रशंसकले सजिलै माफी दिनेछन् ।’

‘जसरी उनी मेस्सी र स्वारेजसंग फुटबल खेलेका थिए । त्यो क्लबका लागि निकै राम्रो थियो । यदी उनीहरुले च्याम्पियन्स लिग जितेको खण्डमा प्रशंसकलाई कुनै समस्या हुनेछैन ।’ रिभाल्डाे भन्छन् ।