नेयमारले पहिलो खेल नखेल्ने, पीएसजी छोड्ने लगभग पक्का

पीएसजीले फरवार्ड नेयमारलाई लिग अन्तर्गत आइतबार हुने पहिलो खेलमा नखेलाउने भएको छ ।

पीएसजीका निर्देशक लिओनार्डोले खेलको पूर्वसन्ध्यामा बोल्दै नेयमारको अवस्थाबारे जानकारी दिएका हुन् । ‘हामीले नेयमारलाई आइतबारको खेल नखेलाउने निर्णय लिएका छौं ।

यसबारे खेलाडीलाई पनि जानकारी दिइसकेका छौं,’ उनले भने, ‘हामी अहिले उनको ट्रान्सफरलाई लिएर छलफलमा छौं । औपचारिक प्रस्ताव नआएको हुनाले निर्णय गर्ने अवस्था छैन । उनको भविष्यबारे सटिक निर्णय लिएर मात्र अर्को कदम चाल्नेछौं ।’

पीएसजीले यसअघि नै नेयमारको लागि उचित प्रस्ताव आएको खण्डमा क्लब उनलाई बेच्न तयार रहेको बताउँदै आएको छ । यद्यपि नेयमार र पीएसजीबीच पछिल्लो समय सुमधुर सम्बन्ध रहेको छैन । नेयमारको व्यवहारले आजित पीएसजीका निर्देशकले शनिबार दिएको अभिव्यक्तिले पनि हालको अवस्था प्रष्ट पारेको छ ।

बार्सिलोनाले ट्रान्सफर विन्डोको सुरुवातदेखि नेयमारलाई अनुबन्ध गर्ने भनेपनि फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमनको आगमनसँगै अब नेयमार बार्सिलोना जाने एकदम कम सम्भावना रहेको छ । क्रिस्टियानो रोनाल्डोको प्रस्थानपछि उनको उत्तराधिकारीको खोजीमा रहेको रियल म्याड्रिड नेयमारको लागि उचित गन्तव्य हुने देखिन्छ ।

रियलका लागि मात्र नभएर नेयमार र पीएसजीका लागि यो उचित विकल्प हुन सक्छ । रियलले नेयमारलाई अनुबन्ध गर्न उनको माग पूरा गर्न सक्छ । पीएसजीको माग अनुसारको रकम तिर्न पनि रियल सक्षम छ । नेयमारले यसअघि ला लिगामा आफूलाई सिद्ध गरेका कारण पनि रियललाई थप फाइदा छ ।

बार्सिलोनामा यसअघि लिग, च्याम्पियन्स लिग र कप उपाधि जितिसकेका नेयमारले यस सिजन पीएसजीका लागि खेलेका छैनन् । कोपा अमेरिकामा चोटका कारण खेल्न नसकेका उनले पीएसजीको प्रशिक्षणमा तोकिएको समयभन्दा १ साता ढिला पुगेका थिए । पछिल्लो सिजन नै मैदानबाहिर राम्रो व्यवहार नदेखाएको आरोप लागेको नेयमारलाई यस घटनाले थप समस्या दिएको हो ।