नेयमारको ह्याट्रिकमा पीएसजीको उत्कृष्ट जित

युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह ‘सी’ को खेलमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनले सर्बियाको रेड स्टार बेलग्रेडलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ । खेलमा फरवार्ड नेयमारले ह्याट्रिक पूरा गरे ।

पहिलो खेलमा लिभरपुलसँग ३-२ ले पराजित भएको पीएसजीका लागि ब्राजिलियन सुपरस्टार नेयमारले गोलको खाता खोलेका थिए । नेयमारले फ्रिकिकमा सिधै गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । बेलग्रेडका डिफेन्डर भुजादीन साभिचले नेयमारलाई फल गरेपछि प्राप्त फ्रिकिकमा उनी आफैंले गोल गरेका थिए ।

त्यसको दुई मिनेटमै नेयमारले अग्रता दोब्बर पारे । उनले किलियन एमबाप्पेको पासमा गोल गरेका थिए । ३७ औं मिनेटमा एडिन्सन कभानीले पीएसजीको अग्रतालाई तीन गोलमा पुर्याए । पहिलो हाफ सकिन ३ मिनेट बाँकी रहँदा एन्जल डी मारियाले उत्कृष्ट गोल गरे । उनले थोमस मुनिएरको क्रसमा ब्याकहिल गर्दै गोल गरेका थिए ।

दोस्रो हाफमा पनि पीएसजीले सुरुआतदेखि नै खेलमा पकड जारी राख्यो । युवा फरवार्ड किलियन एमबाप्पेले ७० औं मिनेटमा गोल गर्दै पीएसजीलाई ५-० ले अगाडी बढाए । उनले एडिन्सन कभानीको पासको सदुपयोग गर्दै गोल गरेका थिए । बेलग्रेडका लागि जर्मन मिडफिल्डर मारको मारिनले ७४ औं मिनेटमा गोल फर्काए । उनले लोरेन्जो एबेचिलोको पासमा राम्रो गोल गरे ।

नेयमारले खेलको ८१ औं मिनेटमा दोस्रो फ्रिकिक गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । एबेचिलोले उनलाई पेनाल्टी क्षेत्रबाहिर लडाएपछि प्राप्त फ्रिकिकमा नेयमारले सिधै गोल गरेका थिए । यस जितसँगै च्याम्पियन्स लिगमा पीएसजीले अंकको खाता खोलेको छ । समूहमा पीएसजी र बेलग्रेडसँगै इटालियन क्लब नेपोली र इंग्लिस क्लब लिभरपुल रहेका छन् ।

जारी सिजन पीएसजीका लागि खेलेका १० खेलमा नेयमारले १० गोल गरेका छन् । उनले ह्याट्रिकसँगै च्याम्पियन्स लिगमा ३० गोल पनि पूरा गरे । उनी च्याम्पियन्स लिगमा गोल गर्ने ब्राजिलियन खेलाडीको सुचिमा काकासँग बराबरीमा छन् । उनको च्याम्पियन्स लिगमा यो दोस्रो व्यक्तिगत ह्याट्रिक हो ।