नेयमारको चाहना मात्र बार्सिलोना

यस ट्रान्स्फर विन्डोमा सबै भन्दा चर्चामा रहेका खेलाडी हुन् पिएसजीका ब्राजिलियन स्टार नेयमार । उनले पिएसजी छोड्ने खबरले ट्रान्स्फर विन्डो मज्जाले तातिरहेको छ । त्यसमा पनि उनी पुर्व क्लब बार्सिलोना फर्कन चाहेको खबरले त झनै चर्चा चुलिएको छ ।

सन् २०१३ मा बार्सिलोना आएका नेयमार २०१७ मा पिएसजी गए । पिएसजी गए पछी नेयमारलाई बार्सिलोना छोडेकोमा निकै पछुतो लाग्यो । उनले बार्सिलोनामा हुँदा लियोनल मेस्सीले गर्ने गरेको सहयोगलाई निकै सम्झिए । उनले बार्सिलोनाको विश्व हल्लाउने ट्रिओलाई निकै मिस गरे । मेस्सी, लुइस स्वारेज र नेयमारको एमएसएन ट्रिओलाई उनले सधैं नै सम्झिरहे ।

उनले बार्सिलोनामा जस्तो बातावरण पिएसजीमा महसुस गर्न पाएनन्। यता बार्सिलोनालाई पनि नेयमारको अभाव खड्कियो । अहिले नेयमार बार्सिलोना फर्किन चाहेका छन् । उनले पिएसजीलाई समेत आफुले क्लब छोड्न चाहेको जानकारी गराईसकेका छन् । बार्सिलोना पनि आफ्नो पुर्व स्टारलाई फर्काउने कसरत गरिरहेको छ । तर यो त्यती सहज भने देखिदैन । किनकी पिएसजीले नेयमारका लागि बार्सिलोनाले गरेको सबै जसो प्रस्तावहरु अस्विकार गरिरहेको छ ।

पिएसजी नेयमारलाई बेच्ने मनस्थितीमा खास्सै देखिदैन । हालै आएर बार्सिलोनाले पिएसजी सामु नयाँ र ठुलो प्रस्ताव पेश गरेको छ । स्रोतका अनुसार बार्सिलोनाले नेयमारका लागि १०० मिलियन युरो र आफ्ना २ खेलाडी दिने प्रस्ताव गरेको छ ।

उसले पिएसजीलाई सम्झौतामा सामेल गर्न सकिने ६ खेलाडीको लिस्ट समेत दिएको बताईएको छ । जसमा इभान राकिटिक, फिलिपे कौटिन्हो, उस्मान डेम्बेले, नेल्सन सेमेडो र माल्कम रहेका छन् ।अर्को एक खेलाडीको नाम भने सार्वजनिक गरिएको छैन ।

यो प्रस्तावमा पिएसजीको प्रतिकृया कस्तो हुन्छ त्यो पर्ख र हेरको अवस्थामा रहेको छ । हुन त नेयामर बार्सिलोनामा नगए पनि पिएसजी छोड्ने सोचमा रहेको खबर पनि बाहिरियो । तर नेयमारले आफ्नो मन मस्तिष्कमा केबल बार्सिलोना मात्र रहेको संकेत गरेका छन् । उनी बार्सिलोना बाहेक अन्य क्लबमा जाने कुनै सोचमा छैनन् ।

उनी सकेसम्म चाडो दुबै क्लब बिच ट्रान्स्फरलाई लिएर सम्झौता होस् भन्ने चाहन्छन् । तर पिएसजी हत्तपत्त मान्ने अवस्थामा छैन । खबर यस्तो सम्म छ कि पिएसजी नेयमारलाई बेच्नै परे बार्सिलोना बाहेकको क्लबलाई बेच्न चाहन्छ । यस अघी पनि बार्सिलोनाले अन्य खेलाडीको लागि राखेको प्रस्ताव पिएसजीले बारम्बार अस्विकार गरेको उदाहरण टन्नै छन् ।

बार्सिलोना कुनै पनि हालतमा नेयमारलाई फर्काउने योजनामा छ भने पिएसजी नेयमारलाई क्लबमै बस्न दबाब बनाउदैछ ।उता नेयमार जसरी पनि बार्सिलोना फर्कन चाहिरहेका छन् । उनी फेरी मेस्सी सँग खेल्न चाहिरहेका छन् र एमएसएनको त्यो ऐतिहासिक ट्रिओको माध्यमबाट विश्व फुटबलमा तहल्का मच्चाउने सोच बनाईरहेका छन् । जुन उनले पिएसजीमा कहिल्यै पाएनन् ।