नेमार साइन गर्न युभेन्टसको पनि चासो।

पिएसजी स्टार नेमार क्लब छोडेर बार्सिलोना फर्कन सक्ने खबर औंदै गर्दा उनलाई साइन गर्न अरु धेरै क्लबले पनि चासो देखाएको छ। रियल म्याड्रिडले पनि उनलाई साइन गर्न प्रयास गरेको खबर आउंदा इटालियन च्याम्पियन युभेन्टस पनि उनलाई साइन गर्न अघि सरेको खबर छ।

यसपटकको युरोपियन समर ट्रान्सफर विन्डो आउँदो सेप्टेम्बर २ तारीखका दिन बन्द हुँदैछ । तर २७ बर्षिय नेमार भने पिएसजीमा बस्न चाहँदैनन् र उनी फेरि नोउ क्याम्प फर्किने आफ्नो अडानमा कायम छन् ।

यद्यपि पिएसजीले बार्सिलोनाले नेमारका लागि राखेको यसअघिको प्रस्ताव अस्वीकार गरिसकेको छ । अहिले आएर युभेन्टस पनि नेमारका लागि खेलाडी प्लस रकमको स्वाप डील गर्न इच्छुक देखिएको छ ।

त्यति मात्र नभएर यो डीलका लागि युभेन्टसले अन्य खेलाडी नभएर अर्जेन्टिनी स्टार पाउलो डायबलासँग नेमारका लागि स्वाप डील गर्न इच्छुक देखिएको छ । रिपोर्टअनुसार युभेन्टसले नेमारका लागि सम्भावित स्थानान्तरणलाई लिएर पिएसजीसँग आवश्यक कुराकानी अघि बढाईसकेको छ ।

रोचक कुरा त नेमारलाई अनुबन्ध गर्न अर्को स्पेनीस जायन्ट रियल मेड्रिड पनि तयार र प्रयासरत छ । उता युभेन्टसले गरेको डायबला प्लस आकर्षक रकमको प्रस्तावमाथि पिएसजीले विचार गर्न सक्ने पनि बताइएको छ ।

अहिले आएर नेमारका लागि युरोपका तीन ठूला क्लबले आ–आफ्नो दावेदारीता पेश गरेपछि उनको यो स्थानान्तरण थप रोचक र रोमाञ्चक हुने अनुमान धेरै विश्लेषकहरुले गर्न थालेका छन् ।