नेमार बार्सिलोना फर्कन सक्ने

नेइमारलाई बार्सिलोना फर्किने सम्भावनाबारे प्रश्न सोद्दा उनले स्पेन फर्किने बाटो पूर्ण रूपमा बन्द नभइसकेको जनाउ दिए ।
पत्रकारको प्रश्नमा नेइमारले प्रष्ट जवाफ त दिएनन् । तर, उनले हाँस्दै त्यो सम्भावना खुला नै रहेको संकेत गरे ।

दुई साताअघि मात्रै बार्सिलोनाले नेइमारलाई पुनः क्याम्प नोउ फर्काउनेबारे कुनै योजना र चाहना नरहेको भनेर क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउले एक अन्तर्वार्तामा भनेका थिए । तर, आइतबार मात्रै बार्सिलोनाका स्पोर्टिङ डाइरेक्टर पेप सेगुराले एक अन्तर्वार्तामा बोल्दै नेइमार स्पेन फर्किने ढोका पूर्ण रूपमा बन्द नभइसकेको बताए ।

‘यदि हामीले विश्वास गर्छौं भने र हामीमाथिको अपमानजनक व्यवहारपछि उनले चाहना गरे यो हुनेछ,’ सेगुराले एक अन्तर्वार्तामा भनेका छन् । तर, सेगुराले यो बताएका छन् कि, यदि नेइमार पुनः क्याम्प नोउ फर्किन चाहन्छन् भने उनी आफैंले पहिलो कदम चाल्नुपर्छ । यो बताइन्छ कि, यतिबेला बार्सिलोनाको ड्रेसिङ रुम पनि नेइमार फर्किउन् भन्ने चाहन्छ भने पिएसजीको ड्रेसिङ रुम पनि नेइमारको पेरिस छाड्ने चाहनाबारे जानकार छ ।

यसअघि ‘मार्सा’ले पनि बार्सिलोनाले गत सिजनमै नेइमारलाई फर्काउन चाहेको रिपोर्ट प्रकाशित गरेको थियो । बार्सिलोनाले नेइमारलाई गोप्य रूपमा क्याम्प नोउ नै फर्किन अफर गरेका बेला रियल मड्रिडका अधिकारीले नेइमारका बुबासँग भेट गरेपपछि नेइमार मौन बसेका थिए । पछि उनले आफू पिएसजीमै रहने बताए ।

रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टो परेजेले अहिले पनि नेइमार भित्र्याउन विशेष चासो दिइरहेका छन् । तर, केही समयअघि मात्रै पिएसजीले आफ्ना खेलाडी बेच्न इन्कार गरेपछि रियललाई धक्का लागेको थियो ।

यो बताइन्छ कि, यदि नेइमारले पिएसजी छाड्न चाहे क्लबले कुनै अवरोध नगर्ने गरी पिएसजीसँग सम्झौता भएको छ । पिएसजीले नेइमारका लागि रिलिज क्लज राखेको छैन ।
‘मार्सा’मा प्रकाशित रिपोर्टअनुसार नेइमारले चाहे उनी सन् २०१९ को नयाँ सिजनको सुरुमै क्याम्प नोउ फर्किन सक्छन् । नेइमारलाई बार्सिलोनाले २ वर्षअघि विश्वकीर्तिमानी २ सय २२ मिलियन युरोमा पिएसजीलाई बेचेको थियो ।