नेपाल र युएई सिरिज : बलिङमाथि निर्भर, ब्याटिङमा सुधार आवश्यकता

नेपाल र युएईबीच एकदिवसीय र टी-२० क्रिकेट सिरिज अन्तर्गतको पहिलो एकदिवसीय खेल शुक्रबार सुरु हुदै छ । नेपाली टिम सिरिजका लागि युएई पुगिसकेको छ । युएईविरुद्ध खेल्ने १६ सदस्यीय खेलाडीहरुमा ४ जना युवा खेलाडीलाई टिममा मौका दिइएको छ भने अनुभवी खेलाडी शरद भेस्वाकर अस्वस्थताका कारण टिममा समावेश रहेका छैनन् ।

युएई जादै गर्दा कप्तान पारस खड्काले सिरिजमा आफुहरुले ब्याटिङमा विशेष ध्यान दिने बताए । नेपालको ब्याटिंग परम्परागत रुपमा नै कमजोर रहेको देखिन्छ । पछिल्लो समय कप्तान पारस खड्काको प्रदर्शनमा नै पुरा टिमको ब्याटिंग प्रभावित भएको देखिएको छ । टिममा अनुभवी ज्ञानेन्द्र मल्ल, युवा खेलाडीहरु दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल लगायतले अब जिम्मेवारी लिएर नेपाली ब्याटिंग लाइनअप सम्हाल्नु पर्ने देखिन्छ ।

एक दिवसीय मान्यता पाएपछि गत अगष्टमा नेदरल्याण्ड्ससँग पहिलो एकदिवसीय सिरिज खेलेको नेपालले युएईविरुद्ध दोस्रो पटक एकदिवसीय खेल खेल्न लागेको हो। युएईविरुद्ध यो पहिलो सिरिज भएपनि नेपालले एसिया कप छनोटमा युएईविरुद्ध एकदिवसीय खेल खेलिसकेको छ । दुवै टिम एकदिवसीय मान्यता प्राप्त भएकाले नेपाल र युएईबीचको खेलले एकदिवसीय मान्यता पाएको थियो, जुन खेलमा नेपाल पराजित भएको थियो । नेपालले अहिलेसम्म तीन एकदिवसीय खेल खेल्दा एक खेल मात्र जितेको छ भने दुईमा हार बेहोरेको छ।

यस्तै एकदिवसीय मान्यता पाएपछि नेपालले नदरल्याण्ड्ससँग इंग्ल्याण्ड्को लर्ड्समा खेलेको टी-२० इन्टरनेशनल खेल भने वर्षाले प्रभावित भएपनि नतिजाविहिन बनेको थियो ।पहिलो एकदिवसीय खेल पछि नेपालले आइसीसी वरियता पाउने हुनाले पनि नेपालले यो खेल जित्दा वरियतामा पनि यसको असर देखिने छ । कप्तान पारसले पनि वरियतामा असर गर्ने हुनाले आफुहरुको ध्यान पहिलो खेल जित्नेमा नै रहेको बताए ।