नेपाल पुलिस खप्तड गोल्डकपको फाइनलमा, थ्री स्टार संग उपाधीका लागि भिड्ने

नेपाल पुलिस क्लब तेस्रो संस्करणको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको दोस्रो सेमिफाइनलमा सीएमजी संकटा क्लबलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले हराउदै पुलिस उपाधि नजिक पुगेको हो । धनगढीको क्षेत्रिय रंगशालामा खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो ।

पेनाल्टीमा पुलिसका गोलकिपर रोशन खड्का नायक बन्दा संकटा पराजित भयो ।पुलिसका गोलकिपर रोशनले संकटाका सुवास गुरुङको पेनाल्टी प्रहार बचाए । पेनाल्टीकै लागि पुलिसले खेलको ९० औं मिनेटमा शत्रुघन चौधरीको स्थानमा रोशनलाई मैदान छिराएको थियो । पेनाल्टीमा पुलिसका अविशेक रिजाल,अजित भण्डारी, हरि कठायत, तीर्थ राना मगर र बिक्रम धिमालले गोल गरे । संकटाका अमित तामाङ, लक्ष्मण रुचाल, म्याक्स्वेल र सरोज दाहालले गोल गरे ।

अब पुलिसले उपाधिका लागि थ्री स्टार क्लबसंग प्रतिस्पर्धा गर्नेछ । मोफसलकै सर्बाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् ।