नेपाल अफगानिस्तानसंग पराजित, उपाधि भारतलाई

भारतमा सम्पन्न चौकोणीय यू–१९ एकदिवसीय क्रिकेट सिरिजमा नेपाल तेस्रो स्थान हासिल गर्न असफल भएको छ । तेस्रो स्थानका लागि मंगलबार भएको खेलमा नेपाल अफगानिस्तानसंग ७१ रनले पराजित भयो ।

अफगानिस्तानसंगको हारसंगै नेपाल सिरिजको चौथो स्थानमा रहदै घर फर्किएको छ । यस्तै अफगानिस्तानले नेपालविरुद्ध अघिल्लो खेलमा बेहोरेको हारको बदला समेत लिएको छ । नेपालले आइतबार अफगानिस्तानलाई २५ रनले हराएको थियो ।

लखनउस्थित एकाना स्टेडियममा अफगानिस्तानले जितका लागि दिएको २४५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले ४५ ओभरमा अलआउट हुँदै १७३ रनमा समेटियो ।
नेपालका लागि आसिफ शेख र लोकेस बमले समान २५/२५ रन जोडेपनि टोलीलाई उकास्न सकेनन् । यस्तै अरुण ऐरीले २४ तथा पवन सर्राफले २३ रन बनाए । नेपाललाई सस्तैमा समेट्न अफगानिस्तानका रियाज हसनले ४ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २४४ रन जोडेको थियो । अफगानिस्तानको लागि रियाज हसनले अविजित ११७ रनको शतकीय इनिङस खेले । उनले १४९ बलमा १२ चौका र २ छक्का प्रहार गरे ।

यस्तै अफगानिस्तानका लागि बसीर खान सिरले ३२ तथा आरिफ खानले २४ रन जोडे । नेपालका पवन शारफ, सागर ढकाल र संसद आलमले २/२ विकेट लिए ।
सिरिजको उपाधि भने भारतको ‘बि’ टिमले जितेको छ । मंगलबार भएको फाइनलमा भारतको ‘बि’ टिमले ‘ए’ टिमलाई १० रनले हराएर सिरिजमा कब्जा जमायो ।

बंगलादेशमा आयोजना हुने एसिया कप क्रिकेटको तयारीको रुपमा भारतीय क्रिकेट बोर्डले आयोजना गरेको सिरिजमा भारतको दुई गरी नेपाल र अफगानिस्तानका टोलीले प्रतिस्पर्धा गरेका थिए ।