नेपाली राष्ट्रिय फुटबल टोलीले प्रशिक्षणमा जीपीएस प्रणालीको प्रयोग गर्दै

नेपाली राष्ट्रिय फुटबल टोलीले प्रशिक्षणका दौरान जीपीएस प्रणाली प्रयोगमा ल्याएको छ । साफ च्याम्पियनसिपको तयारीमा जुटेको नेपाली टोलीले शुक्रबारदेखि यो प्रयोग गर्ने एन्फाले जनाएको छ ।

टोलीमा एथलेटिक ट्रेनर तथा पर्फर्मेन्स प्रशिक्षक विवेक विक्रान्त अधिकारीको आगमनसँगै नेपाली टोलीले प्रशिक्षणमा आधुनिक उपकरणहरु प्रयोग गर्दै आएको छ । अधिकारीले नेपाली टोलीको फिटनेस सुधार्न एसियाली खेलकुद अघि विशेष प्रशिक्षण पनि दिएका थिए । उनले खेलाडीको फिटनेस सुधार्न र चोटबाट बच्न यो जीपीएस प्रणालीले सहयोग पुग्ने बताए ।

‘ हामी खेलकुदको वैज्ञानिक युगमा प्रवेश गर्न थालेका छौं । यो हाम्रो त्यसतर्फ पहिलो कदम हो,’ अधिकारीले भने, ‘यो प्रणालीको प्रयोगसँगै हामी खेलाडीको प्रशिक्षणको सम्पूर्ण विवरण प्राप्त गर्न सक्छौं । यसले चोटको रोकथामसँगै प्रदर्शनमा सुधार ल्याउन पनि सहयोग पुर्याउँछ ।’

कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले पनि नयाँ प्रणालीले खेलाडीको स्तरोन्नतिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘ हामीले विवेकको यो प्रयासलाई धन्यवाद दिनुपर्छ । यसले खेलाडी प्रशिक्षण दौरान के गरेको छ भन्ने थाहा हुन्छ,’ उनले भने ।

नेपाल भदौ १९ देखि सुरु हुने साफ च्याम्पियनसिपको तयारीमा व्यस्त छ । नेपाल रहेको समूह ‘ए’ मा आयोजक बंगलादेश, पाकिस्तान र भुटान रहेका छन् । नेपालले प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तानको सामना गर्नेछ ।