नेपाली राष्ट्रिय टिमका गोलकीपर फुटबल छाडेर विदेशिए

Pic:- Kantipur

नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक एलन न्यौपाने रोजगारीका लागि विदेशिएका छन् ।

घरेलु मैदानमा हुने विश्वकप र एएफसी एसियन कप छनोटका लागि घोषित राष्ट्रिय टोलीको ३१ सदस्यीय छनोट टिममा स्थान बनाएका एलन शनिबार रोजगारीका लागि अस्ट्रेलिया गएको पारिवारिक स्रोतले जनाएको छ । नेपालमा फुटबल खेलेर आफ्नो भविष्य सुनिश्चित नदेखेपछि बाध्य भएर विदेशिएका उनका साथीहरूले सुनाएका छन् । ‘रोजगारीका सिलसिलामा एलन अस्ट्रेलिया गएका हुन् । राष्ट्रिय टोलीको पहिलो रोजाइमा नपर्ने देखेपछि उनले आफ्नो भविष्यलाई प्राथमिकतामा राख्दै यसो गरेका हुन्,’ उनको पारिवारिक स्रोतले जनायो ।

जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टीकाराम लामाले एलन विदेशिएको विषय आफूले सामाजिक सञ्जालमार्फत् थाहा पाएको बताए । ‘अस्ट्रेलिया गएको विषय मैले सामाजिक सञ्जालमार्फत् थाहा पाएँ । खेल्न, पढ्न वा रोजगारी केका लागि गएका हुन् अझै थाहा छैन,’ उनले भने । स्रोतका अनुसार विश्वकप छनोटअन्तर्गत नेपाल र अस्ट्रेलियाबीच अस्ट्रेलियामा भएको खेल खेल्न जाँदा नेपाली खेलाडीलाई एकवर्षे मल्टिपल भिसा दिएको थियो । एलन त्यही भिसा प्रयोग गर्दै अस्ट्रेलियातर्फ लागेका हुन् ।

गोलकिपर एलन नेपालले सन् २०१६ मा बंगलादेशमा बंगबन्धु कप जित्दा र भारतमा सम्पन्न १२ औं साग खेलकुदमा फुटबलतर्फ स्वर्ण जित्दा नेपाली टोलीका सदस्य थिए । सन् २०१३ देखि थ्रीस्टार क्लबमा आबद्ध उनले भर्खरै मात्र राजधानीमा सम्पन्न ‘ए’ डिभिजन फुटबल लिगमा भने च्यासल युथ क्लबबाट खेलेका थिए । उनी सन् २०१६ देखि राष्ट्रिय टोलीमा समावेश हुने र बाहिरिने क्रम चल्दै आएको थियो । उनले सन् २०१५ देखि हालसम्म यू–२३ टिममा रहेर पाँचवटा खेलसमेत खेलिसकेका छन् । उनी २०१८ को एएफसी यू–२३ छनोट खेलमा टोलीमा रहेका थिए ।

हेटौंडा–२ वनस्खण्डी स्थायी घर भएका एलन एन्फा एकेडेमीका उत्पादन हुन् । उनी यू–१२ बाट एन्फा एकेडेमीमा प्रशिक्षणरत् थिए । विश्वकप तथा एएफसी एसियन कप छनोटका लागि राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले एलनसहित ३१ जनालाई पहिलो चरणको छनोटमा समावेश गरेका थिए । एलन उमेर समूहका गोलकिपरमध्येका उत्कृष्ट हुन् ।

उनी निकटका अनुसार एलनलाई उनी आबद्ध ‘ए’ डिभिजन क्लब च्यासलले जापानमा प्रशिक्षण र रोजगारीको व्यवस्था गरिदिने अफर गरे पनि त्यसलाई बेवास्ता गर्दै अस्ट्रेलियातर्फ लागेका हुन् । ‘लिग भएको समयमा च्यासलबाट खेल्ने अन्य समयमा जापानमै प्रशिक्षण गर्दै रोजगारी गर्ने व्यवस्था क्लबले मिलाए पनि त्यसलाई बेवास्ता गर्दै उनी अस्ट्रेलियातर्फ गएका हुन् । उनलाई त्यहाँ रहेका खेलाडीहरूले दुईवर्षे भिसा र रोजगारीको ग्यारेन्टी गरेसँगै उनी त्यसतर्फ गएका हुन्,’ परिवार स्रोतले जनाएको छ ।

नेपाली फुटबलको सर्वोच्च निकाय एन्फालाई भने उनले रोजगारीका लागि विदेशिनेसम्बन्धमा कुनै जानकारी गराएका छैनन् । राष्ट्रिय टोलीको आइतबार सुरु हुने बन्द प्रशिक्षणका लागि बोलाइँदा हाललाई आफू उपलब्ध हुन नसक्ने जनाएको अस्ट्रेलिया जाँदा नेपाली फुटबल टोलीका व्यवस्थापक रहेका एन्फाका सदस्य मधुसुदन उपाध्यायले बताए । यसअघि त्यही भिसामा मिडफिल्डर हेमन गुरुङ पनि अस्ट्रेलिया गएका थिए । मनाङ मर्स्याङदीका उनी अघिल्लो वर्षको ए डिभिजन लिगमा उत्कृष्ट मिडफिल्डर भएका थिए ।

@Kantipur

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ