नेपाली टोलि भोलि बंगबन्धु गोल्ड कपमा आफ्नो पहिलो खेल खेल्दै

बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिता आज देखि बंगलादेशमा शुरु हुदैछ । उद्घाटन खेलमा आयोजक बंगलादेशले लाओससँग प्रतिस्पर्धा गर्दैछ । खेल सिलेटस्थित रंगशालामा स्थानिय समयअनुसार साँझ ६ः३० बजेपछि शुरु हुनेछ । दुवै टोली जित निकाल्दै प्रतियोगिताको अर्काे चरण प्रवेश गर्ने अभियानलाई सहज बनाउने योजनामा हुनेछ । बंगलादेश रहेको समूह ‘बी’ मा लाओस र फिलिपिनस रहेका छन् ।

डिफेन्डिङ च्याम्पियन नेपालले भने भोलि ताजिकिस्तानसँग खेल्दै उपाधि रक्षा अभियान थाल्नेछ । नेपाल र ताजिकिस्तानबीचको खेल सिलेटस्थित रंगशालामा स्थानिय समयअनुसार ६ः३० बजेपछि शुरु हुनेछ । नेपाल रहेको समूह ‘ए’ मा ताजिकिस्तान र प्यालेस्टाइन रहेका छन् । ६ अक्टोवरमा प्यालेस्टाइनसँग खेल्नेछ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान स्थान बनाउने छ ।

नेपाली टोलीका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले यसपटक अघिल्लो वर्षको प्रतियोगिताभन्दा केही असहज हुने बताएपनि टिमले उपाधिकै लागि खेल्ने जनाएका छन् । ढिला गरी बंगबन्धुमा सहभागिता जनाउने निर्णय गरेको नेपालले यही प्रतियोगिताको लागि भनेर एक सातामात्रै प्रशिक्षण गरेको थियो । प्रशिक्षक महर्जनले बंगबन्धुका लागि प्रशिक्षण समयावधि छोटो देखिएपनि टिम करिव तीनमहिना अघिबाट नियमित प्रशिक्षणमा रहेका कारण खासै फरक नपर्ने बताएका थिए ।

अघिल्लो संस्करणको च्याम्पियन बन्दा नेपालले पाउनुपर्ने ५० हजार अमेरिकी डलरमध्ये २५ हजार डलमात्रै प्राप्त गरेपछि नेपालले पुरै पुरस्कार रकम नपाए प्रतियोगितामा सहभागिता नजाउने बताएका थिए । एन्फाले अल्टिमेटम दिएपछि बंगलादेश फुटबल फेडेरसनले तत्कालै पुरस्कारको रकम पुरा गरिदिएपछि नेपालको बंगबन्धु सहभागिता निश्चित बनेको थियो ।

नेपालले अघिल्लो संस्करणमा च्याम्पियन बन्दा फाइनलमा बहराइनको यु–२३ टिमलाई ३–० ले पराजित गर्दै च्याम्पियन बनेको थियो । फाइनलमा बिमल घर्तीमगर, विशाल राई र नवयुग श्रेष्ठले गोल गरेका थिए । तीन जना खेलाडी अहिलेको टिममा पनि समावेश छ ।