नेपाली खेलाडी खर्च गराएर विदेश आउँछन् तर खेल्दैनन्

एक वर्षअघि तुर्कमिनिस्तानको अस्गबातमा ‘एसियन इन्डोर तथा मार्सल आर्ट्स गेम्स’ आयोजना भयो । उक्त प्रतियोगितामा नेपालले सहभागिता जनायो । तर प्रतियोगिताका लागि अस्गबात पुगेका केही नेपाली खेलाडी स्पर्धामा भागै नलिई घर फर्किए ।

प्रतियोगिता छाड्नुको कारणबारे उनीहरूलाई सोधियो । केही खेलाडीले उत्तर दिए— खेलको समयमा शौचालय गएका थियौं । केहीले आफूलाई खेल सुरु हुने समयबारे जानकारी नभएको बताए । केहीले भने बाटो बिर्सिएर खेलमैदान पुग्न ढिलो भएको दाबी गरे ।

सञ्चारमाध्यममा उक्त समाचारले प्राथमिकता पायो । यसपछि नेपाली खेलकुदको नेतृत्वदायी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्यस विषयमा छानबिन समिति बनायो । सोही समितिको प्रतिवेदनका आधारमा उसले केही खेलाडीलाई कारबाही ग¥यो । केहीलाई भने सचेत मात्र गराएर उन्मुक्ति दियो ।
इन्डोनेसियाको जकार्ता र पालेम्बाङमा एसियाली खेलकुदको १८औं संस्करण आयोजना भइरहेको छ । यो एसियाको सबैभन्दा ठूलो प्रतियोगिता हो । तर, यो प्रतियोगितामा पनि केही नेपाली खेलाडीको व्यवहार अस्गबात घटनाकै झल्को दिने खालको छ ।

खेलाडीको निराशाजनक प्रदर्शन त छँदै छ, त्यसमाथि अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर राष्ट्रको गौरव बढाउने उद्देश्यसहित विदेश पुगेका खेलाडीले आफ्नो खेल नै छाड्नु नेपालका लागि झनै दुःखको विषय बनेको छ । यसपालिको प्रतियोगितामा पनि नेपालका वीरमान लामाले उसुको पुरुष सान्दा ६५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने कार्यक्रम थियो । लाओसका खेलाडी दाम्चोपोछ खिओसाभतसँग क्वार्टरफाइनल खेल्नुपर्ने उनी प्रतिस्पर्धामै उपस्थित भएनन् । फलस्वरूप ‘बाई’ पाएर लाओसका खेलाडी अघिल्लो चरणमा पुगे ।

प्रतियोगिताका लागि विदेश गएका खेलाडी नखेल्ने मात्र होइन, तालिकासमेत थाहा नपाएर बिलखबन्दमा पर्ने गरेका पनि छन् ।

वीरमानले प्रतियोगिता छाड्नुको कारणबारे बुझ्न खोज्दा उनी अस्वस्थ रहेको जानकारी दिइयो । नेपालमै हुँदादेखि नै उनी ढाडको समस्याबाट पीडित रहेको बताइएको छ ।

यस्ता घटनामा खेलाडी त दोषी छन् नै, त्यसभन्दा पनि बढी कमजोरी खेल पदाधिकारीको छ । ‘एसियाकै बलिया प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्नुपर्ने थलोमा समेत एउटा अस्वस्थ खेलाडीलाई सहभागी गराइन्छ भने नेपालका लागि योभन्दा ठूलो दुर्भाग्य अरू के हुन सक्छ’, एक खेल पदाधिकारीले भने, ‘आफ्ना खेलाडीको प्रदर्शन र स्वास्थ्य अवस्थाको विषयमा सामान्य जानकारीसमेत नराख्ने पदाधिकारी यसका दोषी हुन् ।’ यस्ता घटनाले ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि हुने खेलाडी छनोट प्रक्रियामा समेत प्रश्न उठ्ने उनको भनाइ छ ।

खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले बताए । ‘खेलाडी छनोटदेखि लिएर अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी सिफारिस गर्ने कामसमेत सम्बन्धित खेल संघहरूको हो’, उनले भने, ‘बिरामी खेलाडी ल्याइएको विषयमा मैले पछि मात्र थाहा पाएँ । यस विषयमा आवश्यक छानबिन हुन्छ ।’

तर सम्बन्धित खेल अधिकारी भने यसमा खेलाडीको दोष देख्दैनन् । नेपालमा चिकित्सकले उनलाई प्रतियोगिता खेल्न सक्ने भनेर योग्य घोषित गरेका थिए । तर, जकार्ता पुगेपछि नेपाली टोलीका चिकित्सकले उनलाई प्रतियोगिता खेलाएर जोखिम उठाउन नहुने सुझाए । र पछि मात्र खेलाडीले भाग नलिएको ती अधिकारीको दाबी छ ।

यसैगरी एथलेटिक्समा नेपाली धावक यामसाजन सुनारले पनि आफ्नो खेल छाडेका थिए । पुरुष एक सय मिटर दौडमा सहभागिता जनाएका यामसाजनले तीन दिनपछि भएको दुई सय मिटर दौडको छनोट चरणमा भने भाग लिएनन् ।

मध्य जकार्तास्थित गेलोरा बुङ कार्नो रंगशालामा भएको एक सय मिटर दौडमा यामसाजन हिट चरणबाटै बाहिरिएका थिए । एक सय मिटरमा राम्ररी नै दौड पूरा गरेका यामसाजन आफ्नो हिटमा आठौं तथा अन्तिम स्थानमा आएका थिए । उनले निर्धारित दूरी पार गर्न ११ दशमलव ३९ सेकेन्ड समय लगाएका थिए ।

स्वास्थ्यमा समस्या आएको कारण देखाएर दुई सय मिटर दौडमा भने उनी आफैंले नखेल्ने निर्णय लिएका थिए । यसका लागि उनले आफ्नो तिघ्राको मांसपेसीमा समस्या आएको कारण देखाएका थिए । उनले कारणसहित सम्बन्धित निकायमा निवेदन दिएका पनि थिए । यद्यपि, त्यसअघि उनको मांसपेसीमा समस्या देखिएकोबारे कसैलाई जानकारी गराइएको थिएन ।

 

‘यामसाजनले आफ्नो तिघ्राको मांसपेसीमा समस्या आएकाले दुई सय मिटर दौडमा भाग लिन नसक्ने भन्दै राखेपका सदस्य सचिवलाई निवेदन दिएका थिए । खेलाडी आफैंले घाइते भएँ भनेपछि खेलाउने कुरा पनि आएन’, राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक रिम रानाभाटले भने ।

खेलका क्रममा खेलाडी घाइते हुनु स्वाभाविक हो । तर त्यसका लागि आधिकारिक चिकित्सकले खेलाडी घाइते भएको भएको र त्यस्ता खेलाडीलाई खेलाउँदा जोखिम हुने कुरा पुष्टि गर्नुपर्छ । राष्ट्रिय टिम तयारी समितिका संयोजकसमेत रहेका रानाभाटका अनुसार यामसाजनले राखेपमा दिएको निवेदनमा कुनै पनि चिकित्सकको प्रमाणपत्र संलग्न गरेका छैनन् । न त राखेपले नै खेलाडीको स्वास्थ्य परीक्षण गराउने चासो देखाएको छ ।

म्याराथन स्पर्धामा पनि दुवैजना नेपाली खेलाडीले बीचैमा दौड छाडेका थिए । पुरुष म्याराथनमा नेपाली धावक कृष्णबहादुर बस्नेतले लक्ष्यनजिक पुग्नुभन्दा करिब दुई किलोमिटर पहिले दौड छाडेका थिए । अर्का धावक गोपीचन्द्र पार्कीले पनि ३० किलोमिटर दूरी पार गरेपछि दौड त्यागेका थिए । इन्डोनेसियाको मौसमका कारण खेलाडीले दौड पूरा गर्न नसकेको नेपाली खेल अधिकारीको दाबी छ ।

एथलेटिक्समै ‘लेट इन्ट्री’का कारण दुईजना धावकले सहभागिता जनाउन नपाएको विषय प्रकाशमा आएपछि दुई खेल निकाय राखेप र नेपाल ओलम्पिक कमिटी (एनओसी)बीच आपसमा आरोप प्रत्यारोपको घटना त झनै उदेकलाग्दो बन्न पुग्यो । विश्वरूपा बुढाले महिला १० हजार मिटर दौड र सोमबहादुर कुमालले पुरुष चार सय मिटर दौडमा निर्धारित समयभन्दा ढिलो नाम दर्ता गराएका कारण प्रतियोगितामा सहभागिता जनाउन नपाएको घटनापछि यी दुई खेल निकाय त्यसको दोष एकअर्कामाथि थोपर्न लागिपरेका छन् ।

यसअघि नेपाल एथलेटिक्स संघले एसियाडमा विश्वरूपाले १० हजार र पाँच हजार तथा सोमबहादुरले चार सय र आठ सय मिटर दौडमा भाग लिने बताएको थियो । तर, प्रतियोगितामा भने विश्वरूपाले १० हजार र सोमबहादुरले चार सय मिटरमा प्रतिस्पर्धा गर्न नपाएपछि यससम्बन्धी विवाद सुरु भएको थियो ।

दुवै खेलाडीले दुवै स्पर्धामा भाग लिने भनेर ओलम्पिक कमिटीमार्फत आयोजक समितिमा नाम पठाए पनि ओलम्पिक कमिटीले समयमै नाम दर्ता नगरिदिएका कारण खेलाडीले प्रतिस्पर्धा गर्न नपाएको राखेपको दाबी छ । कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदा हरेक राष्ट्रले आफ्नो ओलम्पिक कमिटीमार्फत नै सम्पूर्ण प्रक्रिया अगाडि बढाउनुपर्छ।

तर, ओलम्पिक कमिटीका पदाधिकारीले भने आफूले राखेपबाट प्राप्त सबै खेलाडीको नाम समयमै दर्ता गराए पनि खेलअघि हुने सम्बन्धित खेलका व्यवस्थापकको बैठकमा नेपाली प्रतिनिधि समयमै नपुगेकाले खेलाडीले खेल्न नपाएको दाबी गर्दै आएका छन् ।

Report by Annapurna Post