नेपाली क्रिकेट टोली सोमबार श्रीलंका जाँदै

एशिया कप छनौट क्रिकेटको तयारीमा व्यस्त रहेको नेपाली क्रिकेट टोली आउँदो सोमबार श्रीलंका जाने भएको छ ।

त्रिवि क्रिकेट मैदान किर्तिपुरमा ३ दिनदेखि बन्द प्रशिक्षण रहेको टोली थप अभ्यासका लागि श्रीलंका जान लागेको हो।

प्रायः सबैजसो प्रतियोगितामा देखिने कमजोर ब्याटिङ सुधार्नका लागि भारतबाट आएका प्रशिक्षक अपूर्व देशाईले अहिले प्रशिक्षण दिइरहेका छन्।

टोलीले अहिले दैनिक ४ घण्टासम्म अभ्यास गरिरहेको छ । श्रीलंकामा झण्डै १ हप्ता अभ्यास र केही मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली प्रतियोगिताका लागि उतैबाट मलेसिया जाने नेपाल क्रिकेट संघ क्यानका व्यवस्थापक छुम्बी लामाले जानकारी दिए ।

एशियाकप छनौट अगस्ट २९ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा हुनेछ । ६ वटा टिम सहभागी प्रतियोगितामा नेपालले चिरपरिचित टिमहरु युएइ, हङकङ, ओमन, मलेसिया र सिंगापुरसँग प्रतिष्पर्धा गर्नेछ ।

राउण्ड रोबिन लिगका आधारमा संचालन हुने प्रतियोगिताको शीर्ष दुई टोलीबीच फाइनल भिडन्त हुनेछ । उपाधि जित्ने टोलीले एशिया कप खेल्ने मौका पाउनेछ ।

नेपालले उपाधि जिते एशिया कपमा क्रिकेटका पावर हाउस मानिने भारत र पाकिस्तानसँग खेल्ने अवसर पाउनेछ ।
एशिया कप क्रिकेट युएईमा सेप्टेम्बर १५ देखि २८ सम्म संचालन हुनेछ ।