नेपालीको सिंगापुर माथी सान्दार जित – नेपाल ४ विकेटले विजयी

एशिया कप छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ । आज भएको खेलमा नेपालले सिंगापुरलाई चार विकेटले हरायो ।

मलेसियाको युकेएम ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ४२ ओभरमा एक सय ५१ रनमा अलआउट भयो । सिंगापुरका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । सुरुवात राम्रो गर्न नसकेको सिंगापुरले १८ रन बनाउदा तीन विकेट गुमाएको थियो । सिंगापुरका सुरुवाती तीन खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

चौथो विकेटका लागि चेतन रामचन्द्र र अनिश इडवार्डले ८० रनको साझेजारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेका थिए । तर उनको जोडीलाई दिपेन्द्र ऐरीले तोडे । अनिशलाई दिपेन्द्रले ३१ रनमा रनआउट गरेपछि सिंगापुर ९८ रनमा चार विकेट गुमायो । तर सिंगापुरको विकेट झर्ने क्रम यतिमा रोकिएन । एक सय १८ रन बनाउदा सिंगापुरका ६ जना खेलाडी पेभेलियन फर्किएका थिए ।

जव उसका कप्तान चेतन ६० रनमा आउट भए त्यसपछि सिंगापुरको पारी पुरै खस्कियो । नेपाली बलरसँग संघर्षगरेर खेलेका उनले टिमका लागि कप्तानी पारी खेले । बलिङतर्फ ललित राजवंशी र सन्दिप लामिछाने तीन तीन तथा सोमपाल कामीले दुई विकेट लिए ।

जवाफमा नेपालले २८ ओभर एक बलमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । नेपालले बलियो सुरुवात गर्दै पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरेको थियो । तर ७३ रन बनाउदा नेपाललले तीन विकेट गुमाउन पुग्यो ।

अनिलकुमार शा ४३ रनमा आउट भए भने सुवास खकुरेल १४ र कप्तान पारस खड्का ११ रनमा पेभेलियन फर्किए । चौथो विकेटका लागि ज्ञानेन्द्र मल्ल र दिपेन्द्रसिंह ऐरी विच ४७ रनको साझेदारी गरे । तर ज्ञानेन्द्र २९ रनमा आउट हुदा नेपाललले एक सय १९ रन बनाएको छ ।

सामान्य लक्ष्य पक्ष्याएको नेपालले एक सय ४८ रन बनाउदा ६ विकेट खेर फाल्यो । सागर पुनले १४ रन बनाउदा दिपेन्द्र ऐरीले ३३ रन जोडे ।