नेपालीको प्रतिव्यक्ति अायमा व्यापक वृद्धि, वार्षिक अाैसत १ हजार ४ डलर पुग्यो

नेपालीको वार्षिक औसत प्रतिव्यक्ति आयमा पछिल्लाे समयकै व्यापक वृद्धि भएकाे छ । अार्थिक वर्ष २०७४/७५ (सन् २०१८) मा वार्षिक १ हजार ४ अमेरिकी डलर प्रतिव्यक्ति अाय पुगेकाे छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत अाव २०७३/७४ मा वाषिर्क प्रतिव्यक्ति अाय अाैसतमा ८ सय ६६ डलर रहेकोमा चालू आर्थिक वर्ष २०७४/७५ मा १ सय ३८ डलर बढेर १ हजार ४ डलर पुगेको हो ।

यसअघि २०७२ सालकाे भूकम्प र नाकाबन्दीका कारण आव २०७२/७३ मा प्रतिव्यक्ति आय ऋणात्मक भएकाे थियाे । विगत दुर्इ वर्षमा भने निरन्तर विस्तारै सुधार हुँदै पछिल्लाे समय व्यापक वृद्धि भएकाे हाे ।

अार्थिक वृद्धिदर भने घट्याे 

सरकारले आवको शुरूमा ७ दशमलव २ प्रतिशत प्रक्षेपण गरेको आर्थिक वृद्धिदर मध्यावधि समीक्षामार्फत ६ प्रतिशतमा झारेको थियो । तर, विश्व बैङ्क र एशियाली विकास बैङ्क (एडीबी)ले भने चालू आवको आर्थिक वृद्धिदर ५ प्रतिशत नपुग्ने अनुमान सार्वजनिक गरेका थिए । एडीबीले ४ दशमलव ९ र विश्व बैङ्कले ४ दशमलव ६ प्रतिशतको वृद्धिदर प्राप्त हुने प्रक्षेपण गरेका छन् ।

विभागले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर  ५ दशमलव ८९ प्रतिशतले बढेर अर्थतन्त्रको आकार ३० खर्ब ७ अर्ब २४ करोड रुपैयाँ पुग्ने अनुमान  समेत गरेको छ ।   गत अाव २०७३/७४ मा अार्थिक वृद्धिदर ७ दशमलव ३९ रहेकाे थियाे ।

चालू आवको ९ महिनासम्मको आर्थिक गतिविधिसम्बन्धी आँकडा तथा सूचनाका आधारमा याे अाँकडा निकालिएकाे विभागले जनाएकाे छ । समीक्षा अवधिमा कृषिक्षेत्रको वृद्धिदर २ दशमलव ८२ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । गतवर्ष यस क्षेत्रको वृद्धि ५ दशमलव २ प्रतिशत थियो । त्यसैगरी, गैरकृषि क्षेत्रको वृद्धिदर ७ दशमलव १ प्रतिशत रहने अनुमान छ, जुन गत आवमा ८ दशमलव ५ प्रतिशत थियो । तराईको बाढी, घट्दो विप्रेषण र उच्च ब्याजदरका कारण आर्थिक गतिविधिमा अपेक्षित वृद्धि नहुँदा वृद्धिदर खुम्चिएको विभागले जनाएकाे छ ।

चालू आवमा कृषिक्षेत्रमा उल्लेख्य वृद्धि नभए पनि पुनर्निर्माणका लागि वन पैदावारका सामग्री र उत्खनन क्षेत्रमा उत्पादन वृद्धिजस्ता कारणले सो क्षेत्रमा जीडीपी वृद्धि भएको छ । यसैगरी, द्वितीय क्षेत्रअन्तर्गतका निर्माण, उद्योग र विद्युत्, ग्यास तथा पानीले जीडीपीमा १४ दशमलव १८ योगदान दिएको अनुमान गरिएको छ ।

विभागले कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा सेवा क्षेत्रको सबै भन्दा बढी योगदान रहने प्रक्षेपण पनि  छ । अर्थतन्त्रको सबैभन्दा ठूलो अंश ओगटेको सेवाक्षेत्रले जीडीपीमा ५७ दशमलव ६१ प्रतिशत योगदान दिएको छ । स्वदेशी वस्तु उत्पादनमा भएको वृद्धि, पर्यटन आगमनमा वृद्धि र विद्युत् आपूर्तिमा भएको सहजताले सामाजिक सेवामा उल्लेख्य सुधार हुँदै गएको प्रतिवेदनमा उल्लेख छ ।

जीडीपीमा कृषिक्षेत्रको २७ दशमलव १० र गैरकृषि क्षेत्रको ७२ दशमलव ९० प्रतिशत योगदान रहेको प्रारम्भिक अनुमान विभागले गरेकाे छ ।