नेपालले स्कटल्याण्डमा खेल्ने एकदिवसीय सिरिज स्थगित

विश्वकप लिग–२ अन्तर्गत नेपालले स्कटल्याण्डमा खेल्ने एकदिवसीय सिरिज स्थगित भएको छ । कोरोना भाइरसका कारण आइसीसीले बिहीबार स्कटल्याण्डमा हुने सिरिज स्थगित गरेको जनाएको हो ।

जुलाईमा तय भएको ६ खेलको एकदिवसीय सिरिज स्थगित भएको हो । जुलाई ४ देखि ११ सम्म हुन सिरिजमा नेपाल सहित घरेलु टोली स्कटल्याण्ड र नामिबिया सहभागी हुने तय थियो । तर, यो कठिन परिस्थितिमा क्रिकेट आयोजना गर्न नसकिने भन्दै सिरिज स्थगित गरिएको हो ।

यसअघि नेपालले २० अप्रिलदेखि २७ सम्म नामिबियामा हुने त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डसँग खेल्ने तय भएको सिरिज पनि स्थगित भएको थियो । त्यस्तै, जुन दोस्रो सातामा पपुवा न्युगिनीमा संयुक्त अरब इमिरेट्स युएईसँग खेल्ने त्रिकोणात्मक सिरिज पनि प्रभावित भएको थियो ।

नेपालले पहिलो सिरिज अन्र्तगत ओमान र अमेरिकासँग खेलिसकेको छ । घरेलु मैदानमा भएको सिरिजमा नेपालले ४ खेल खेल्दै २ मा जित र २ मा हार ब्यहोरेको छ । नेपाल ४ अंक जोडेर छैटौं स्थानमा छ ।