नेपालले बाङ्लादेश र किर्गिस्तानसंग दशरथ रंगशालामा तीन देशिय फुटबल प्रतियोगिता खेल्ने

अखिल नेपाल फुटबल सङ्घ एन्फाले मार्चको २२ देखि ३० तारिखसम्म बङ्गलादेश र किर्गिस्तान सम्मिलित तीन देशीय फुटबल प्रतियोगिता गर्ने भएको छ ।

दशरथ रंगशालामा हुने प्रतियोगिता सिङ्गल राउण्डरोविनका आधारमा हुनेछ । जसमा शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । फिफा विश्वकप छनौट अन्तर्गत मार्चमा हुने भनिएको तालिका स्थगित भएपछि सो समयमा एन्फाले यो प्रतियोगिता गर्न लागेको हो ।

प्रतियोगिताका लागि किर्गिस्तानको यु २३ टिम नेपाल आउने बताइएको छ । यो प्रतियोगितालाई फिफाले पनि मान्यता दिएको छ ।

कोरोना भाइरसपछि दशरथ रङ्गशालामा पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल हुने लागेको हो । फिफा विश्वकप छनोटका लागि रङ्गशाला तयारी अवस्थामा रहेको छ ।

कोरोनाकै बिचमा नेपालले बङ्गलादेशको ढाकामा दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसपछि विश्वकप छनौटको तयारीमा रहे पनि अन्तिम समयमा खेलहरू स्थगित गरिएको छ ।

अब नेपाली फुटबल टिमले यही प्रतियोगिताका लागि तयारी गर्नेछ । यो प्रतियोगितामा मैदानमा दर्शकलाई पनि समावेश गर्ने एन्फाको तयारी रहेको छ । लामो समय खेलविहीन भएका नेपाली खेलाडी यो प्रतियोगिता खेल्न निकै उत्साहित रहेको एन्फाले बताएको छ ।