नेपालले बंगबन्धु गोल्ड कप खेल्ने पक्का

साविकको विजेता नेपालले पाँचौ संस्करणको बंगबन्धु अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा सहभागिता जनाउने पक्का भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार आयोजित पत्रकार सम्मेलनमा बङ्गलादेशको ढाकामा हुने बंगबन्धु गोल्डकप खेल्ने जानकारी गराएको हो । यसअघि अघिल्लो संकरणको उपाधि पुरस्कार नपाएको भन्दै एन्फाले सहभागिता जनाउन नसक्ने बताएको थियो ।

एन्फाले प्राप्त गर्नु पर्ने रकम आउने आश्वासन पाएपछि सहभागिता जनाउन लागेको हो । एन्फाले पुरस्कार बापतको ५० हजार डलरमध्ये २५ हजार प्राप्त भएको र २५ हजार प्राप्त गर्न बाँकी रहेको जनाएको छ । एन्फाले उक्त पुरस्कार रकम २८ तारिखभित्र आउने जनाएको छ । उक्त समयमा पनि पैसा नआए सहभागिता नजनाउने जनाएको छ ।

यस्तै एन्फाले उक्त प्रतियोगिताको दौरान क्लबको खेल तालिका मिलाउने जनाएको छ । एन्फाले राष्ट्रिय टोलीमा रहने सदस्यहरु रहेको क्लबको खेल पछाडी सार्ने बताएको छ । यस्तै प्रतियोगिताको दौरान राष्ट्रिय टोलीका खेलाडीले क्लबसंग नभई राष्ट्रिय टोलीकै सदस्यसंग अभ्यास गर्ने जनाएको छ ।

आगामी अक्टोबर १ देखि १२ सम्म हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । साबिकको बिजेता समेत रहेको नेपालको समूहमा प्यालेस्टाइन र ताजिकिस्तान रहेको छ ।
राष्ट्रिय पिता बंगबन्धु शेख मुजिकुर रहमानको स्मृतिमा हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहने छ । समूह ‘बी’ मा आयोजक बंगलादेश, लाओस र फिलिपिन्स रहेको छ ।