नेपालले फीफा विश्वकप छनोटको घरेलु म्याच अर्को देशमा खेल्न सक्ने

नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनौट खेल्दा उपलब्ध हुन नसक्ने बताइएको छ । गोलनेपालका अनुसार रंगशालाको पूननिर्माण र स्तरोन्नतिको कार्य आउँदो सेप्टेम्बरसम्म पूरा नहुने निश्चित छ ।

साथै यदि त्यतिबेलासम्म रंगशाला तयार भए तापनि राष्ट्रिय खेलकुद परिषद्ले विश्वकप छनौटका लागि प्रयोग गर्न नदिन सक्ने बताइएको छ । स्मरण रहोस, नेपालले यसै बर्षको डिसेम्बरमा दक्षिण एसियाली खेलकुद (साग) को पनि आयोजना गर्दैछ ।

२०७२ सालमा आएको विनाशकारी भूकम्पपछि स्तरीय रंगशालामा नहुनुका बावजुद नेपालले एएफसी कप २०१९ को छनौट खेल्न पाएको थियो । जसको श्रेय भने एएफसी सोलिडारिटी कपलाई जान्छ । नेपालले एएफसी सोलिडरिटी कप जितेपछि बिजेताको हैसियतले एसियन कप छनौट खेल्ने अवसर पाएको थियो ।

भूकम्पपछि स्तरीय रंगशाला नहुँदा नेपालले आफ्नो घरेलु म्याचहरु एपिएफको हल्चोक मैदान र एन्फा कम्प्लेक्समा खेलेको थियो । जुन एएफसी र फिफाको मान्यता अनुरुप छैन । तर पनि फिफाले नेपालको तत्कालिका अवस्थालाई बुझेर केही खेलहरु सोही मैदानमा खेल्न अनुमति दिएको थियो ।

यद्यपि ती दुई खेलस्थलमा प्रर्याप्त दर्शक क्षमता नहुने भएपछि अधिकांश नेपालका समर्थकहरु नेपालले खेलेको अन्तर्राष्ट्रिय म्याचहरु प्रत्यक्ष हेर्नबाट बञ्चित भएका थिए भने राष्ट्रिय टोलीलाई नजिकैबाट समर्थन गर्नबाट पनि चुकिरहेका थिए ।

उता फिफा विश्वकप छनौट नेपालका लागि एक महत्वपूर्णै प्लेटफर्म समेत हो । जुन यसै बर्षको सेप्टेम्बरदेखि शुरु हुँदैछ । नेपालले कम्तिमा पनि ४ घरेलु म्याच खेल्ने निश्चित छ । विश्वकप छनौटको दोस्रो चरणको ड्र यहि जुलाई १७ तारीखका दिन दोहामा निकालिंदैछ । नेपाल पोट ५ मा परेको छ र नेपालले आफूभन्दा माथिल्लो वरियताका बलियो टोलीहरुसँग खेल्ने निश्चित प्राय छ ।

गोलनेपालका अनुसार उता एन्फाले नेपालले खेल्ने आफुनो घरेलु म्याचका लागि एएफसी÷फिफालाई यहि जुलाईको तेस्रो साताभित्र घरेलु मैदानको नाम र रिपोर्ट बुझाउनु पर्ने भएकोले एन्फा केही दबाबमा पनि छ । तर एन्फासँग एपिएफ मैदान र एन्फा कम्प्लेक्सबाहेक अन्य विकल्प छैन ।

यद्यपि यसपटक फिफाले मापदण्ड विपरित रहेको ती दुई मैदानमा अन्तर्राष्ट्रिय फुटबल म्याच खेलाउन अनुमति नदिने सम्भावना बढी छ । तर पनि हाल एन्फाले राखेपसँग खेल स्थलको टुंगो लगाउन आवश्यक छलफल गरिरहेको छ ।

विदेशी भूमिमा पनि घरेलु म्याच खेल्न सक्छ नेपाल
यदि यस्तो अवस्था आइपरे एन्फाले एएफसी, फिफासँग नेपालको घरेलु म्याच हुने स्थान परिवर्तन गरि विदेशको कुनै एक स्थान (जहाँ नेपालीहरुको बढी बसोबास छ) लाई घरेलु मैदानका लागि चयन गर्न आग्रह गर्न सक्छ । जसका लागि कतारको दोहा, नेपालको लागि आकर्षक विकल्प बन्न सक्छ, जहाँ धेरै नेपालीहरु प्रवासी कामदारका रुपमा कार्यरत पनि छन् ।

यद्यपि यो अवस्थामा नेपाल मै रहेका फुटबल समर्थकहरुले भने राष्ट्रिय टोलीलाई प्रत्यक्ष रुपमा घरेलु मैदानमै समर्थक गर्न भने सक्ने छैनन् ।

@Kheldainik