नेपालले ओमानसँग खेल्दै एसिया कप छनोटको यात्रा सुरु

एसीसी एसिया कप छनोट मलेसियामा बुधबार सुरु हुँदैछ । छनोटको अन्तिम तयारी श्रीलंकामा गरेको नेपाली टोली मलेसिया पुगेर पनि प्रशिक्षणमा जुटिसकेको छ । नेपालले ओमानसँग खेल्दै छनोटको यात्रा प्रारम्भ गर्नेछ । खेल नेपाली समय अनुसार बिहान ७ः४५ बजे सुरु हुनेछ ।

नेपाल, ओमानसँगै छनोटमा युईए, हङकङ, सिंगापुर र मलेसिया छन् । छनोटका सहभागी सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेपछिको विजेता टोली यसै महिनाको अन्त्यमा सुरु हुने एसिया कपका लागि छनोट हुनेछ । यसरी छनोट हुने टोलीले समूह ‘ए’ मा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

विश्व क्रिकेटका ठूला नामसँग खेल्न पाउने अवसर नेपाललगायत सबै टोली गुमाउन चाहदैनन् । त्यसैले हरेक टोली जितबाट छनोटको यात्रा सुरु गर्न चाहन्छन् । नेपाल र ओमानबीच अहिले सम्म ६ पटक प्रतिस्पर्धा भइरहेको छ । जसमा दुवै टोलीले समान ३ खेल जितेका छन् ।

नामिबियामा भएको पछिल्लो भेट वल्र्ड क्रिकेट लिग डिभिजन २ मा नेपालले ओमानसँग ६ विकेटले पराजित भएको थियो । नेपाली टोली मंगलबार अभ्यास गरेको थियो ।