नेपालले अहिलेसम्म साफमा माल्दिभ्सलाई हराउन सकेको छैन

नेपाल र माल्दिभ्सबीच समग्रमा हेर्दा नेपाल माल्दिभ्सविरुद्ध जित कम हार बढीको स्थितिमा रहेको छ । नेपालले हालसम्म साफमा माल्दिभ्ससंग ६ खेल खेलेको छ । जसमा नेपालले २ बराबरी खेल्दा ४ हार बेहोरेको छ । नेपालले साफमा माल्दिभ्सविरुद्ध ७ गोल गर्दा १४ गोल खाएको छ । नेपाल बुधबार हुने सेमिफाइनल जित्दै माल्दिभ्सविरुद्धको जितबिहिन यात्राको अन्त्य गर्ने लक्ष्यमा हुनेछ । त्यसको लागि नेपालले आफुलाई समेत तयार गरेको छ ।

नेपालले समग्रमा हालसम्म माल्दिभ्सविरुद्ध १५ खेल खेलेको छ । जसमा ४ जित र ४ बराबरी खेल्दा नेपालले ७ खेल गुमाएको छ । नेपालले समग्रमा माल्दिभ्सविरुद्ध १९ गोल गर्दा २० गोल खाएको छ ।

माल्दिभ्सविरुद्ध नेपालका पुर्व स्ट्राइकर हरि खड्काले सर्वाधिक धेरै ४ गोल गरेका छन् । यस्तै नवयुग श्रेष्ठको नाममा ३ गोल रहेको छ । नेपालले माल्दिभ्स पछिल्लो पटक सन् २०१६ को बंगबन्धु गोल्डकपमा ४ – १ ले हराएको थियो । नेपालका नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए भने विशाल राईको नाममा एक गोल रहेको थियो । नेपालले उक्त संस्करणको बंगबन्धु गोल्डकप जितेको थियो ।

नेपाल र माल्दिभ्सबीचको खेल बंगबन्धु रंगशालामा नेपाली समय अनुसार दिउसो ३:४५ बजे सुरु हुनेछ ।