‘नेपाललाइ जित्न सजिलो हुने छैन, हामीलाई गार्हो बनाउनेछ’ – बंगलादेशका प्रशिक्षक

बंगलादेशका प्रशिक्षक जेम्स डेले नेपाली टोलि उत्कृष्ट टिम रहेको र बंगलादेशलाई समस्या पार्न सक्ने बताएका छन् ।
नेपालसंगको खेलअघि खेलपाटीसंग कुरा गर्दै प्रशिक्षक जेम्सले अघिल्लो खेलको प्रदर्शन हेर्दा नेपाल निकै उत्कृष्ट टिम रहेको बताए ।

‘नेपाल धेरै राम्रो टिम हो । उनीहरुले हामीलाई समस्या पार्न सक्छ,’ प्रशिक्षक जेम्सले भने, ‘पाकिस्तानसंग नेपाल अभागी रह्यो । तर, भुटानलाई नेपालले चार गोल गरेको छ । त्यसैले उनीहरु राम्रो टिम छ ।’

समूह चरणको अन्तिम खेलमा नेपाल र बंगलादेश आज साँझ प्रतिस्पर्धा गर्दैछ । यो खेल नेपालको लागि महत्वपूर्ण खेल रहेको छ । बंगलादेशको लागि पनि यो खेल महत्वपूर्ण छ ।
प्रशिक्षक जेम्सले नेपालविरुद्धको खेल निकै प्रतिस्पर्धात्मक हुने समेत बताए । ‘नेपाल राम्रो टोली हो मैले भनिसकेको छु । तर, हामी उनीहरुको गोलकर्तासंग डराउने छैनौ । मलाई लाग्छ यो खेल निकै गार्हो हुनेछ ।’

समूह चरणको दुई खेल सकिदा नेपालको ३ अंक छ । बंगलादेशको भने २ खेलबाट ६ अंक छ । यसै समूहमा पाकिस्तानको पनि ३ अंक रहेको छ । यस्तोमा तीनै टोलीको सेमिफाइनलमा पुग्ने सम्भावना कायम छ ।
प्रशिक्षक जेम्सले भने बंगलादेश नेपालविरुद्ध जित निकाल्न नै मैदान उत्रने दाबी गर्छन् । उनले भने, ‘हामी हाम्रो आफ्नो खेल खेल्छौ र अघि बढ्नेछौ । नत्र हामी निराश हुनेछौं ।’