नेपालबाट बालोन डी’ओरमा कसलाई कसलाई भोट गयो?

फ्रान्स फुटबलले हरेक वर्ष प्रदान गर्ने बलोन डी’ओर अवार्डमा नेपाली खेलपत्रकारले पनि भोट हालेका छन् । हरेक वर्ष एक नेपाली खेल पत्रकारले बलोन डी’ओरमा भोट हाल्न पाउने व्यवस्था अनुसार यसपटक ‘कान्तिपुर दैनिक’ का राजु घिसिङले भोट हाल्ने मौका पाएका थिए ।

नेपाल खेलकुद पत्रकार मञ्चमा समेत आवद्ध घिसिङले सन् २०१८ को बलोन डी’ओरमा क्रोएशियाका लुका मोड्रिडलाई भोट गरेका थिए । त्यस्तै, उनको दोस्रो रोजाइमा फ्रान्सका एन्टोनियो ग्रिजम्यान, तेस्रोमा बेल्जियमका इडेन हाजार्ड, चौथोमा फ्रान्सका किलियन एम्बाप्पे तथा पाँचौं रोजाइमा युरुग्वेका डिएगो गुडिन उनको रोजाइमा परेको थियो ।

रसिया विश्वकपमा खुलेर जर्मनीको समर्थन गरेका राजु इंग्लिस क्लब आर्सनलका समर्थक हुन् । आर्सनल नेपालले सन् २०१५ को अप्रिलमा ताप्लेजुङमा आगलागीबाट पीडित परिवालाई राहत संकलन गर्दा उनी सो कार्यक्रममा पुगेका थिए । उनी खुलेरै आर्सनलको जर्सी लगाएर हिड्ने गर्छन् । साथै कुनै बेला उनले जर्मन क्लब बार्यन म्युनिखको टोपी पनि लगाएर हिडेको देखिन्थ्यो ।

लामो समयदेखि खेलकुद पत्रकारिता गर्दै आएका घिसिङले कान्तिपुर दैनिक तथा शुक्रबारमा स्वदेशी तथा फुटबलको बारेमा लेख्दै आएका छन् ।