नेपालद्वारा थाइल्याण्ड १४० रनले पराजित

आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह ‘बी’ मा नेपालले लगातार तेस्रो जित निकालेको छ । आइतबार भएको तेस्रो खेलमा नेपालले थाइल्याण्डलाई डकवर्थ लेविस डिएल पद्दतिको आधारमा १४० रनले हराएको हो ।

क्वालालम्पुस्थित बायुवास ओभलमा नेपालले दिएको १७३ रनको लक्ष्यसहित थाइल्याण्डले जवाफी ब्याटिङ गरिरहदा खेल बर्षाले प्रभावित गरेको थियो । बर्षाले खेल रोकिनुअघि थाइल्याण्डले ८ ओभर ५ बलमा ९ विकेट गुमाएर १८ रन जोडेको थियो ।

त्यसपछि बर्षा नरोकिदा थाइल्याण्डले ८ ओभर ५ बलमा १५८ रनको नयाँ लक्ष्य पाउदा नेपालले फराकिलो जित निकालेको हो । थाइल्याण्डका लागि कुनैपनि ब्याट्सम्यान दोहोरो अंक जोड्न सकेनन । उसका जिउल होकी र वाङचना उइसुकले सर्वाधिक ७/७ रन जोडे ।

नेपालका सन्दीप लामिछानेले ८ रन दिएर ५ विकेट लिए । यस्तै करण केसीले ३ तथा ललित राजवंशीले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १७२ रन बनाएको थियो । नेपालका लागि करण केसीले विस्फोटक ब्याटिङ गरे । करणले १४ बलमा ४ छक्का र २ चौका प्रहार गर्दै ४० रन्को योगदान दिए । यस्तै शरद भेषवाकरले ३४ रन जोड्दा दिपेन्द्र सिंह ऐरीले ३० रन जोडे ।

नेपालको उच्च स्कोरमा ओपनर अनिल कुमार साहले २५ र बिनोद भण्डारीले १५ रन जोडे । कप्तान पारस खड्का ५ रनमा आउट हुँदा उपकप्तान ज्ञानेन्द्र मल्ल ७ रनमा आउट भए ।

थाइल्याण्डका लागि पयुपुथ सुनग्नार्डले ४ तथा भिचानाथ सिंहले २ विकेट लिए ।

जितसंगै नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले ३ खेलबाट ६ अंक जोडेको छ । दोस्रो स्थानको सिंगापुरको पनि ३ खेलबाट ६ अंक छ । थाइल्याण्ड ४ खेलबाट ५ अंक जोडेर तेस्रो स्थानमा झरेको छ ।
अब नेपालले मंगलबार भुटानसंग प्रतिस्पर्धा गर्दा बुधबार चीन र शुक्रबार सिंगापुरसंग खेल्नेछ ।

छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटमा स्थान बनाउने छन् । एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । एसिया छनोटमा ७ टोलीले खेल्नेछन् ।
अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकप सन् २०२० को अक्टोबर १८ देखी १५ नोभेम्बरसम्म हुनेछ । जसमा १६ टोलीले खेल्नेछन् ।