नेपालको लगातार चौंथो जित

थाईल्याण्ड वुमेन्स टि-२० अन्तर्गत नेपालले आयोजक थाईल्याण्डको ‘ए’ टिमलाई ९ विकेटले सहजै पराजित गरेको छ। जितसंगै नेपाली महिला टिम समुह ‘ए’ विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको छ। शुक्रवार खेलिने सेमीफाइनलमा नेपालले समुह ‘बि’ को उपविजेता टिमको सामना गर्नेछ। इन्डोनेसियासंग नेपालले सेमीफाइनल खेल्ने सम्भावना प्रवल रहेको छ।

खेलमा टस जितेर ब्याटिंग गरेको थाईल्याण्ड ‘ए’ ले मात्र १९ रनमा सम्पूर्ण विकेट गुमाएको थियो। २० रनको लक्ष्य नेपालले ३.३ ओभरमा १ विकेट गुमाएर पुरा गर्दै ९ विकेटको जित दर्ता गरेको हो। नेरी थापाले अविजित ५ तथा डली भट्टले अविजित २ रन बनाउदै नेपाललाई जितसम्म पुर्याए भने ममता चौधरी ८ रन बनाएर आउट भईन् ।

यस अघि टस जितेर पहिले ब्याटिंग गर्दै थाईल्याण्ड ए टिमले १९ रनमा सम्पूर्ण विकेट गुमाउदै नेपाललाई २० रनको लक्ष्य दिएको थियो। थाईल्याण्डका ६ जना ब्याट्सउमनहरुले खाता पनि खोल्न सकेनन् भने नेपालले दिएको ७ अतिरिक्त रन योगफलमा सर्वाधिक योगदान रह्यो। थानचनोक फोपलुकले बनाएको ४ रन सर्वाधिक योगदान रह्यो।

नेपालको लागि प्रतियोगितामा पहिलो खेल खेलीरहेकी आरति बिडारीले सर्वाधिक ३ विकेट लिने क्रममा ४ ओभरमा १ मेडन ओभर सहित ५ रन मात्र खर्चिन्। बिडारी प्लेयर अफ द म्याच समेत घोषित भइन्।यस्तै इन्दु बर्मा ( २-१-२-२ ) र सरिता मगर ( ३-१-४-२ ) ले २/२ विकेट हात पारिन्। प्रतियोगिताको यस अघि सम्पन्न ३ वटा खेलमा मलेसिया, चिन र युएईलाई पराजित गर्दै नेपालले सेमीफाइनलमा स्थान पक्का गरिसकेको छ। नेपालले मलेसियालाई ४ विकेटले, चिनलाई १० विकेटले र युएईलाई ६ विकेटले पराजित गरेको थियो।