नेपालको मलेसियाविरुद्व ऐतिहासिक क्लिनस्वीप

नेपालले मलेसियाविरुद्वको दुई म्याचको टी–ट्वान्टी सिरिज क्लिनस्वीप गरेको छ । दोस्रो खेलमा मलेसियालाई ६ रनले हराउँदै नेपालले सिरिज क्विनस्वीप गरेको हो ।

१ सय ७४ रनको लक्ष्य पछ्याएको मलेसियाले ७ विकेट गुमाएर १ सय ६७ रनमात्र बनाउन सक्यो । मलेसियाकालागि शैयद अजीजले सर्वाधिक ५० रन बनाए । नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई विकेट लिए । करण केसी, पारस खड्का र अबिनाश बोहराले समान एक एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले मलेसियासामु १७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको हो । नेपालको लागि विनोद भण्डारीले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।

योसँगै विनोद टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने चौंथो खेलाडी बने। यसअघि नेपालका कप्तान पारस खड्का, सन्दीप जोरा र सुबास खकुरेलले अर्धशतक बनाएका थिए।

यस्तै शरद भेषवाकरले ४० रन जोड्दा कप्तान पारस खड्काले २३ रन जोडे । त्यस्तै रोहित कुमार पौडेलले १९, करण केसीले १६ रन जोड्दा पवन सर्राफ १० रनमा आउट भए ।
मलेसियाका मुहमद फिर्टीले ३ विकेट लिए ।

पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो ।

आईसीसीबाट टी–ट्वान्टी अन्तराष्ट्रिय मान्यता प्राप्त गरेपछि नेपाललले पहिलो पटक युईएविरुद्वको सिरिज २–१ ले जितेको थियो ।