नेपालको फाइनल खेल्ने सम्भावना जीवितै, यसरी पुग्न सक्छ नेपाल फाईनलमा

नेपालले आइतबार सिंगापुरलाई ४ विकेटले हराउँदै एसिया कप छनोट प्रतियोगिताको फाइनल खेल्ने सम्भावना कायम राखेको छ।

लगातार दोस्रो जितसँगै ४ अंक जोडेको नेपाल चौथो स्थानमा छ । शनिबारै हङकङविरुद्धको खेल वर्षाले प्रभावित बनेपछि अंक बाँडेको ओमान ७ अंकका साथ शीर्ष स्थानमा छ। मलेसियालाई ८ विकेटले पराजित गरेको युएई ६ अंकका साथ दोस्रो तथा ५ अंक जोडेको हङकङ तेस्रो स्थानमा छन् । लिग चरणको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । विजेता टोली १२ दिनपछि युएईमा हुने एसिया कपका लागि छनोट हुनेछ । त्यहाँ छनोट हुने टोलीले समूह ‘ए’ मा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

भारत र पाकिस्तानसँग एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने सपना बुन्दै मलेसिया पुगेको नेपाली टोलीले पहिलो दुई खेल गुमाएपछि छनोट प्रतियोगिताकै फाइनल पक्का गर्न अर्काको भर पर्नुपर्ने भएको छ। नेपालले अब लिगचरणको अन्तिम खेल हङकङविरुद्ध खेल्नेछ भने शीर्ष स्थानको ओमानले दोस्रो स्थानको युएईसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले हङकङलाई र ओमानले युएईलाई पारजित गरिदिए नेपाल र युएईको समान ६ अंक हुनेछ । लिग विजेताको हैसियतमा ओमानले फाइनल पक्का गर्नेछ ।

नेपाल र युएईबीचको रनरेटले दोस्रो स्थानमा रहेर फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ । त्यस कारण नेपालले मंगलबार हङकङमाथि फराकिलो जित निकाल्नुका साथै ओमानले युएईलाई फराकिलो अन्तरमा पराजित गरे मात्र फाइनल खेल्ने सम्भावना हुन्छ । अन्यथा एसिया कप खेल्ने नेपालको सम्भावना समाप्त हुनेछ।

नेपालले मंगलबार हङकङमाथि फराकिलो जित निकाल्नुका साथै ओमानले युएईलाई फराकिलो अन्तरमा पराजित गरे मात्र फाइनल खेल्ने सम्भावना हुन्छ।